
मदरल्याण्डमा चार दिवसीय शैशिक सामग्री प्रदर्शनी
पोखरा, ११ मंसिर/ मंसिर महिनालाई सामग्री निर्माण तथा प्रदर्शनीको महिनाका रूपमा मनाउँदै पोखराको मदरल्याण्डमा चार दिवसीय शैक्षिक सामग्री प्रदर्शनी आइतबार सम्पन्न भएको छ।
दसै र तिहार बिदाको लामो समय लगाएर विद्यार्थीहरूले निर्माण गरेका सामग्रीहरू विद्यालयमा चार दिनसम्म प्रदर्शन गरिएका हुन्।
विद्यालयमा पढाइ हुने प्रायस् सबै विषयका सामग्रीहरू प्रदर्शन गरिएको उक्त कार्यक्रममा बुधबार कक्षा नौ र दस, बिहीबार कक्षा छ, सात र आठ, शुक्रबार कक्षा चार र पाँच तथा आइतबार कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।
कक्षामा पढेको सैद्धान्तिक ज्ञानलाई सामग्री निर्माण र प्रदर्शनका माध्यमबाट प्रयोगात्मक रूपमा प्रस्तुत गर्न पाउँदा विद्यार्थीहरू निकै उत्साहित रहेको विषय उल्लेख गर्दै विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले कक्षा एकदेखि दस सम्मका सबै कक्षाका सबै विद्यार्थीहरू सामग्री निर्माण, प्रदर्शनी र अवलोकनमा सहभागी भएको कुरा बताउनुभयो ।
त्यसै गरी यस कार्यक्रमले विद्यार्थीहरूमा खोज्ने तथा समूहमा काम गर्ने बानीको विकास गराउनुका साथै खेर जाने बस्तु एवम् सामग्रीलाई कसरी पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुराको बोध गराएको विषय विद्यालयका नेपाली शिक्षक तथा सञ्चार प्रमुख होमनाथ भट्टराईले अभिव्यक्त गर्नुभएको छ।
विगतका वर्षहरूमा भन्दा यस वर्ष फरक मोडेलमा सबै विद्यार्थीलाई सहभागी गराउने नयाँ प्रयास गरिएको उक्त कार्यक्रममा विद्यार्थीले अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक अध्ययन तथा कम्प्युटर विज्ञानमा अध्ययन गरेका विभिन्न विषयलाई रेल गाडी, रूख, जनावर, सुन्दर वस्ती, विभिन्न आकर्षक खेलहरू आदि जस्ता प्रविधिको प्रयोग गरी निर्माण गरेका थिए।
सर्बोच्च अदालतको नमुनासमेत प्रदर्शन गरिएको यस कार्यक्रममा नमुना रोबोर्टसमेत प्रक्षेपण गरिएको थियो। मानव जीवनका लागि आवश्यक पर्ने डोजर, मोटर गाडीको बनोट प्रक्रिया आदिका बारेमा सजिलै जानकारी लिन सकिने उक्त प्रदर्शनीमा भाषाको विकासका लागि सहज सहयोग गर्न सबिने सामग्रीहरू पनि राखिएका थिए।





