
पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका
पोखरा, ६ मंसिर/ पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा नागढुङ्गामा रहेको युनिक होटलमा मंगलबार बेलुकी एक महिला अचेत अवस्थामा फेला परेकी थिइन् ।
मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएको थियो ।
उपचारका क्रममा विकको मंगलबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
उनले घटना शङ्कास्पद भएका कारण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवको पोष्टमर्टमको लागि पश्चिम क्षेत्रीय अस्पतालमा राखिएको छ । अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्टपछि धेरै कुरा खुल्ने उनले बताए ।
विकले नागढुंगास्थित शिला रेष्टुरेन्टमा दुई वर्षदेखि काम गर्दै आएकी थिइन् । घटनामा संलग्न युवकको पहिचान भई सकेको प्रहरीको भनाई छ ।
यस्तो थियो घटना विवरण
मृत सुकु विकले नै फोन गरेर होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको डिसपी विकले बताए । उनले केटाको नाम, नम्बर टिपाएर होटलको कोठा बुक गरेको होटल सञ्चालकले प्रहरीलाई जानकारी दिएका छन् । कोठा भित्र जुस र रेडबुल खाको भेटिएको विकले बताए ।
युवकसँग होटलको कोठामा मंगलबार करिब साढे ३ बजे गएकी थिइन् । युवक मंगलबार साझँ करिब साढे पाँच बजे होटलबाट एटिएमबाट पैसा झिक्नु छ भन्दै बाहिर निस्किएको होटल सञ्चालकले बताए । लामो समय सम्म युवक होटलमा नर्फिएपछि होटल सञ्चालकले कोठा खोल्न गएका थिए ।
चाबी लगाएका भेटिएपछि होटलमा रहेको अर्को चाबीले कोठा खोलेर हेर्दा युवती अर्धनग्न र अर्ध चेतको अवस्थामा भेटिएकी थिइन् । त्यस पछि शिला रेष्टुरेन्टकी सञ्चालीका, प्रहरी सहित उनलाई अस्पताल लगिएको बयानमा उल्लेख छ ।





