
पाटन अस्पताल
काठमाडौं, २० कात्तिक/ पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ ।
अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो नर्सले सुई मार्फत एन्टिबायोटिक औषधि दिएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो ।
ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको भन्दै चिकित्सकलाई हातपात समेत गरे ।
अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
निमोनियाको उपचारका लागि भर्ना भएका दुबै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत थिए । नगरकोटी कात्तिक १० गते र राई कात्तिक १६ गते उपचारका लागि भर्ना भएका थिए । निमोनियाको संक्रमको उपचारका लागि उनीहरु दुबै जनालाई नियमित रुपमा चलाउँदै आइरहेको औषधि नै चलाइएको थियो ।
उनीहरुलाई ‘सेफ्ट्रियाक्सोन’ नामक एन्टीबायोटिक्स र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो । मृतकका आफन्तले ललितपुर प्रहरीमा उजुरी दिएका छन् । आफन्तले भने सुई लगाएपछि मृत्यु भएको भन्दै उक्त विषयमा छानबिन गर्दै दोषिलाई कारबाहीको माग गरेका छन् ।
आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने सहमती भएको थियो ।
इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको छ ।