
जाजरकोट भूकम्पः उपमेयर सहित ७२ जनाको निधन, २ सय बढि घाइते
पोखरा, १८ कात्तिक/ जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा जाजरकोट र रुकुममा गरी ७० जनाको निधन भएको छ ।
जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा ३६ जनाको निधन भएको छ । झण्डै सय जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकाल जानकारी दिए ।
जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि निधन भएको छ । सदरमुकाममा बसेको घर भत्किएपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
भूकम्पबाट धेरै घर भत्किएका छन् । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
भूकम्पबाट बालबालिका, बुढाबुढीहरु बढी प्रभावित भएका छन् । सानीभेरी र चौरजहारी नगरपालिकाको बीचमा पर्ने बाटो अवरुद्ध भएकाले डोजरको सहायताले खुलाउने प्रयास भइरहेको छ ।
रातिको समय भएकाले धेरै क्षती भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् ।








