भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेछः अध्यक्ष ओली
पोखरा, १३ कात्तिक/ नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाएका छन् । भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको आरोप छ । एमाले गण्डकीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्सारमा कर उठ्दैन, तस्करीबाट सामग्रीहरु नेपाल आइरहेको बताए ।
उनले एयरपोर्टबाट क्विन्टल सुन बरामद भयो, ६० किलोमा झ¥यो । ९ केजी सुन बरामद भएको अहिले २ किलो होला । यसरी नै डकैती भइरहेको बताए । ओलीले देश टाट पल्टिने अवस्थामा पुगेको बताए । उनले विगत दुई वर्षमा देशको अवस्था गम्भीर भएको भनाई छ । बनाउन धेरै समय लागे पनि भत्काउन समय नलाग्ने बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कहिल्यै नझुक्ने बताए । ‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उनले प्रचण्ड भने, ‘शिर काटिएर गएपनि, त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।’ उनले एमालेलाई बदनाम गराउन आफूमाथि विभिन्न किसिमका आरोप लगाएको बताए । उनले कम्बोडियाको टेलिकममा लगानी गरेको पत्ता लगाउनेलाई १ हजार थपेर सबै सयेर दिने बताए ।
नेता ओलीले २०८४ को चुनावमा एकलौटी जित्ने दाबी गरे । उनले पार्टीले तोकेको मिसन २०८४ पुरा गर्न जोड दिएर लाग्न आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वामदेव गौतमहरुमा दक्षिणपन्थी अवसरवादका रुपमा देखा परेको बताए । उनले हाल पुँजीपति र श्रमजीवी वर्गबीच उथलपुथल भइरहेको बताए ।
कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतका नेताले अब आउने निर्वाचनमा एक भएर अगाडी बढ्नु पर्नेमा जोडदिए ।