
सुन्दर तिवारी
बाँके, १० कात्तिक/ इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु प्रहार भएको छ ।
कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि थापाले चक्कुको झटारो प्रहार गरेका थिए ।
चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएका छन् । थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए ।
सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डिएसपी तिवारीलाई लागेको थियो । चक्कुको झटारोबाट डिएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरीले बताएको छ ।
तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए । त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो ।





