
उपचारकै क्रममा विरामीको मृत्यु भएपछि पोखराको मणिपाल अस्पतालमा तनाब
पोखरा, २६ असोज/ पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरलाई आक्रमण र तोडफोड गरेको आरोपमा पक्राउ परेका २ जना काराकार चलान भएका छन् भने ७ जना धरौटीमा रिहा भएका छन् ।
अस्पतालमा तोडफोड गरेको आरोपमा विनय गुरुङ र छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन् । पक्राउ परेका बाँकी ७ जना भने १÷१ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
न्यायाधीश ध्रुवकुमार पियाको इजलासले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिए । धरौटीमा रिहा हुनेमा सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनिष थापा र विजय गुरुङ रहेका छन् ।
असोज ८ गते लमजुङबाट उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा ल्याइएकी सुकमाया दुराको मृत्यु भएपछि अस्पतालमा तनाब उत्पन्न भएको थियो । मृतकका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शनका क्रममा डा. अनिल शाहमाथि आक्रमण भएको थियो । शाहमाथि आक्रमण भएपछि चिकित्सकहरु पनि आक्रोसित बनेका थिए ।
प्रहरीले तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम मुद्दा दर्ता चलाएको हो ।





