
एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मत परिणाम अनुसार मायानाथ अधिकारीलाई १ सय ६६ मत अन्तरले हराए । शर्माले ५ सय ३१ मत प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे ।
शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उमेद्वार बिजयी भएका छन् ।
उपाध्यक्षमा मिनप्रसाद गुरुङ विजयी भएका छन् । उनले बाबुराम विकलाई १७२ मतअन्तरले हराए । मिनप्रसादले ५ सय ३४ मत प्राप्त गर्दा बाबुरामले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा शर्मा प्यानलका धनञ्जय दवाडी विजयी भए ।
उनले ५ सय २० मत प्राप्त गर्दा सचिबका अर्का उमेद्वार रश्मि आचार्यले ३ सय ७६ मत प्राप्त गरे । उपसचिवमा दामबहादुर विकले ४ सय ९९ मत प्राप्त गर्दा सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे ।
त्यसै गरी उपसचिव महिलामा मञ्जु अधिकारीले ५ सय ३१ मत प्राप्त गर्दा मिना गुरुङले ३ सय ६५ मतप्राप्त गरिन् ।
१ सय ६२ पद मध्ये केही पदमा निर्बिरोध निर्वाचित भएपनि अधिकांश पदको लागि निर्वाचन भएको हो ।
विद्युतिय भोटिङ मार्फत मतदान भएको थियो । ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा मतदानमा ८ सय ९६ जनाले मतदान गरेका थिए ।











