
एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु हुदैछ । बिहीबार ११ः५५ देखी निवाचन शुरु हुनेछ । अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धामा छन् । अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।
शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । शर्मा तर्फ उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् ।
सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । दवाडी पृथ्वीसुब्बा र रश्मि खगराज प्यानलबाट उम्मेदवार बनेका हुन् । उपसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावलको उम्मेदवारी परेको छ । विक पृथ्वीसुब्बा र रावल सन्तोषनिकट हुन् ।
उपसचिव महिलामा मन्जु अधिकारी प्यासी र मिना गुरुङको उम्मेदवारी परेको छ । अधिकारी पृथ्वीसुब्बा र गुरुङ खगराज प्यानलका हुन् । अधिवेशनका लागि प्रदेशका ११ जिल्ला र जनवर्गीय संगठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् ।
१६२ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ । जसमा पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव खुला १, उपसचिव महिला १ निर्वाचित हुनेछन् । यसैगरी खुल्ला प्रदेश सदस्य ५८ जनालाई विभिन्न कलष्टरमा बाँडिएको छ ।





