
पोखरामा बजार अनुगमनः
पोखरा, १४ असोज/ पोखरामा बजार अनुगमन समितिले पोखरा १७ हिमाली टोलमा रहेको सुमित सप्लायर्सलाई ५० हजार जरिवाना गरेको छ । अनुगमनको बेला पसलमा म्याद गुज्रेका सामान राखी विक्री वितरण गरेको भेटिएपछि जरिवाना गरिएको हो ।
सप्लायर्सले यस अघिको अनुगमन समितिले दिएको निर्देशन अटेरी गरेको, प्याकिङ गरी राखेको आलमोण्डको म्याद गुज्रिएको, लेबल नलगाएको, कुहिएको नरिवल विक्रीको लागि राखेको भन्दै म्याद गुज्रिएको १५ हजार ७ सय १३ रुपैया वरावरको सामान नष्ट गरेको छ ।
सप्लायर्सका सञ्चालक रमेश राठीलाई सम्पूर्ण कागजपत्र सहित ३ दिन भित्र उपभोक्ता हित निर्देशनालयमा उपस्थित हुन आदेश दिएको छ । त्यसैगरी हिमाली टोलमा नै रहेको मामा फ्रेस हाउसमा रहेको सडेको चार किलो कुखुराको मासु नष्ट गरी संञ्चालकलाई पसलको सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ ।
त्यसैगरी पोखरा १७ विरौटा शिशुनिकेतन मार्गमा रहेको मुस्कान किचन नामको खाद्य गोदाम दर्ता नगरी चलाएको, बोर्ड नराखेको र केही जिम्मु र रातो रङ मिसाएको ललिपापड नष्ट गरेको छ । सो खाद्य पसललाई चेतावनी स्वरुप ५ हजार जरिवाना गरेको छ ।
पर्यटन उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक नारायण ढकालको संयोजकत्वमा भएको अनुगमनमा उपभोक्ता, मञ्चका प्रतिनिधि, खाद्य कार्यालय कास्कीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि र संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।





