
शिक्षक वार्तामा गएनन्, बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्ने, पोखराबाट जानेको लर्को
पोखरा, २ असोज/ सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु देशभरबाट काठमाडौं लागेका छन् ।
नेपाल शिक्षक महासंघले बुधबारदेखि पठनपाठन नगर्ने घोषणा गरेको महासंघले ५० हजार बढी शिक्षकलाई माइतीघरमा उतार्ने दाबी गरेको छ ।
विगतका सहमतिअनुसार विद्यालय शिक्षा विधेयक नआएकाले दबाबमूलक आन्दोलन गर्न लागेको शिक्षक महासंघले जनाएको छ । आन्दोलनमा जान व्यवस्थापन गरेको बसमा पोखराबाट काठमाडौं जाने शिक्षक नअटाए पछि थप बस व्यवस्थापन गरेर शिक्षकहरु काठमाडौं लागेका छन् ।
शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ताका लागि मंगलबार बोलाएको भए पनि शिक्षकहरु गएनन् ।
शिक्षकहरु सगँ सरकारले २०७५ सालमा ३० बुँदे र २०७८ सालमा ५१ बुँदे सहमति भएको थियो । त्यो सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकको दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग छ ।
महासंघले दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा असन्तुष्टि जनाएको छ ।
सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने प्रावधान पनि संशोधन गर्नुपर्ने महासंघको असन्तुष्टि छ ।