मनाङेले नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य अस्वीकार

-


     क्लिक गण्डकी     
     भाद्र २९ गते २०८० मा प्रकाशित


दीपक मनाङे

दीपक मनाङे

पोखरा, २९ भदौ/ गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका छन् ।

मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित मनाङेले केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका हुन् । मनाङेले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टीले मनोनित गरेको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेको लेखेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पार्टीको केन्द्रीय परिषद सदस्यमा मनोनित गरेको थियो । उनले आफूसँग सल्लाह नगरी आफूलाई परिषद सदस्यमा मनोनित गरिएको भन्दै असन्तुष्टी जनाएका छन् । जनताबाट निर्वाचित सांसद जनताप्रति नै उत्तरदायी हुनुपर्ने भएकाले आफूले पार्टी काममा ध्यान दिन नसक्ने उनको भनाई छ ।

सांसद मनाङेले ‘एकव्यक्ति एकपद’ पार्टीको नीति भएकाले त्यसलाई व्यहारमा उतार्न आग्रह गरेका छन् । सांसद मनाङेले आफू पदको लोभी नभएको र पार्टीको पदप्रति रुची नभएको बताए । २०७९ सालको आवधिक चुनावमा स्वतन्त्रबाट निर्विरोध निर्वाचित मनाङे गठबन्धनबाट गण्डकी प्रदेश सरकार बनाउने कसरत भएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

https://www.facebook.com/photo/?fbid=1079733140073999&set=a.120675419313114

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिबालय वैठकको निर्णय अनुसार मलाइ केन्द्रीय परिषदको सदस्यमा मनोनित गरेको भन्ने सुचना प्राप्त भयो।यो निर्णय र जिम्मेवारी मसंग सल्लाह गरि गरिएको होइन। जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनता संग उत्तरदायी हुन्छन, धेरै समय जनता संग प्रत्यक्ष जोडिएका कामहरु र संसदिय कामकाजमा ब्यस्त हुनुपर्दछ।जसका कारण पार्टीका काममा समय दिन नभ्याइने पनि हुनसक्छ।एउटै ब्यक्तिले अनेक पदको भारि बोक्नु राम्रो होइन।त्यसैले मलाइ दिइएको जिम्मेवारी स्विकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरुलाई दिंदा पार्टीलाई अझ बढि फाइदा हुन्छ।युवाहरुलाइ अगाडी बढाउने कुरामा मेरो सधैं समर्थन रहन्छ।एक ब्यक्ति एक पदको नारा नारामा मात्र सिमित नगरि कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु।



Tags: