
गगन थापा
पोखरा, २७ भदौ/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ को मंसिरभित्र गर्ने बताएका छन् । कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था रहेको बताउदै उनले १५ औं महाधिवेशन २०८२ मंसिरभित्रै गर्ने बताए । उनले क्रियाशील सदस्यता २०८१ साल भित्र सबै टुङगिने बताए ।
पोखरा महानगर पालिकाको दोस्रो सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले यसपटक विधानले तोकेको समयभन्दा पछि नसर्ने दाबी गरे । पार्टीमा क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मेवारी महामन्त्री थापालाई छ ।
उनले २०८१ चैत भित्रै क्रियाशील सदस्यता टुंग्याउने दाबी गरे । चार वर्षभित्र महाधिवेशन हुँदा २०८३ सालमा सबै तहका सम्मेलन गर्न सकिने उनले बताए ।
तहगत सम्मेलनबाट तल्लो तहका संरचनाले निर्वाचनका लागि आफैं उम्मेदवार छान्न सकिने गरी अगाडी बढ्ने बताए । टिकट वितरण गर्ने अधिकार क्रियाशील सदस्यलाई नहुँदा पार्टीमा गुटको राजनीति हुने गरेको उनको भनाई छ ।





