
नेपाल आयल निगम पोखरा झेल
पोखरा, २६ भदौ/ इन्धन अपचलनको आरोपमा पक्राउ परेका पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेल सहित ३ जनालाई धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत कास्कीले सोमबार ट्यांकर धनी समेत रहेका जमरकट्टेललाई १ लाख ५० हजार, जगन्नाथ ढुंगानालाई १ लाख र चालक निर्मल थापालाई ७५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, पोखरा गगनगौंडाबाट ३ हजार बढी डिजेल चोरी गरेको आरोप थियो । आयल निगमका डिपो प्रमुख चित्तरञ्जन दास भने फरार छन् ।
साउन २५ गते ग २ ख ८३६ नम्बरको ट्यांकर पोखरा डिपोबाट १२ हजार लिटर डिजेलको पैसा तिरेर निस्केको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार लिटर डिजेल फेला परेको थियो ।
तोकिएभन्दा ३ हजार लिटर बढी डिजेल अपचलन गरेको घटनामा प्रहरीले विस्तृत अध्ययन गरी आयल निगमको तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दाससहित तीनैजनालाई कारबाहीका लागि मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिएको थियो ।
फरार रहेका दासलाई नेपाल आयल निगम लिमिटेडले निलम्बन गरेको छ । दासलाई साउन ३० मा पक्राउ पुर्जी जारी गरिएको थियो ।
सरकारी वकिलको कार्यालयले अदालतमा डिपो प्रमुख दासलाई कम्तीमा ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना माग दाबी गरी मुद्दा दायर गरेको थियो ।







