कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा, पदाधिकारीमा प्रतिस्पर्धा, सदस्यमा अधिकारी प्यानल अगाडी

-


     क्लिक गण्डकी     
     भाद्र २३ गते २०८० मा प्रकाशित


कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा

कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा

पोखरा, २३ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन हुँदैछ । दुई बर्षे कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा भरत कुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेदवारी दिएका छन् । अधिकारी र श्रेष्ठले दुई छुट्टा छुट्टै प्यानल बनाएर नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

अध्यक्ष पदका प्रत्यासी अधिकारी संघमा दुई कार्यकाल सदस्य, दुई कार्यकाल उपमहासचिव, एक कार्यकाल महासचिव र एक कार्यकाल सल्लाहकार भैसकेका छन् भने श्रेष्ठ पनि दुई कार्यकाल सदस्य, द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पदका प्रत्यासी बनेका हुन ।

अध्यक्ष पदका प्रत्यासी अधिकारीलाई संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्षहरु चतुराखर अधिकारी, सुमन भट्टराई, बाबुराम गिरी, कृष्णहरि भण्डारी सहित वर्तमान अध्यक्ष छत्रधर आत्रेयकोे समेत समर्थन रहेको श्रोतले बतायो । अधिकारी प्रजातान्त्रीक बिचार निकट मानिन्छन् । बामपन्थी खेमाको प्रतिनिधित्व गरेका श्रेष्ठलाई पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र बलराम ढकालको समर्थन रहेको बताइन्छ ।

अधिकारी र श्रेष्ठ यसअघिको निर्वाचनमा पनि बरिष्ठ उपाध्यक्षमा आमने सामने भएका थिए भने श्रेष्ठले अधिकारीलाई ५४ मतले हराएका थिए । झिनो मतले हारेका अधिकारीले दुई बर्ष अगाडी देखी अध्यक्षमा तयारी गरेका थिए भने श्रेष्ठले बरिष्ठ पछि स्वतः अध्यक्षका लागि उम्मेदवारी प्रस्तुत गरेका हुन ।

अधिकारी र श्रेष्ठ अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रिदा व्यवसायीलाई भने सबल र सक्षम नेतृत्व छान्ने चुनौती थपिएको छ । दुवै अध्यक्षका प्रत्यासीले आफुलाई अब्बल ठानेपनि संघका सदस्य मतदाताले उम्मेदवारको व्यापारिक पृष्ठभूमि, व्यक्तित्व र गुण दोषका आधारमा मत दिने व्यवसायीहरुले बताउँदै आएका छन् । नेतृत्व गर्छु भन्नेले व्यवसायीका समस्या बुझेर राज्यका निकायसँग लबिङ गर्न सक्ने ल्याकत राख्नु पर्नेमा उनिहरुको जोड रहेको छ । संघको भित्तामा अध्यक्ष बनेर फोटो मात्र झुण्ड्याउने भन्दा पनि नविनतम कामले इतिहास रच्ने अवसर आएको व्यवसायीहरुको भनाई रहेको छ ।

अधिकारी प्यानलबाट बामपन्थी निकट ऋषिराम जमरकट्टेलले यस पटक बरिष्ठ उपाध्यक्षमा श्रेष्ठ प्यानलका राजेन्द्र ओझालाई टक्कर दिएका छन् । जमरकट्टेल संघमा कार्यसमिति सदस्य हुँदै बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन । भने ओझाले सदस्य, कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेका हुन । जमरकट्टेल र ओझा दुवैजना हार्डवयर व्यवसायी र शिशुवाका बासिन्दा हुन ।

संघमा केही दिन अघि भएको उम्मेदवार परिचय कार्यक्रममा जमरकट्टेलको प्रस्तुतीलाई धेरैले रुचाएका थिए । यसैगरी प्रथम उपाध्यक्षमा उपेन्द्र सुवेदी राजुले अधिकारी प्यानलबाट उम्मेदवारी दिएका छन् । सुवेदी एक कार्यकाल एशोसियट सदस्य, एक कार्यकाल खुल्ला सदस्य, उपमहासचिव र महासचिव हुँदै प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका हुन । सुवेदीसँग गोपिचन्द्र बास्तोलाले श्रेष्ठ प्यानलबाट प्रतिस्पर्धा गर्दैछन् । बास्तोला पनि सदस्य, कोषाध्यक्ष, उपमहासचिव, महासचिव, द्धितिय उपाध्यक्ष हुँदै प्रथममा उम्मेदवारी दिएका हुन । बास्तोला नेकपा माओवादी केन्द्र निकट मानिन्छन् ।

अधिकारी प्यानलबाटै द्धितिय उपाध्यक्षमा युवा उद्यमी एवं कर्माचार्य गु्रपका तेश्रो पुस्ताका बिक्रम कर्माचार्य चुनावी मैदानमा छन् । कर्माचार्य पनि सदस्य हुँदै द्धितिय उपाध्यक्षको उम्मेदवारीमा उक्लिएका हुन । उनिसँग गत बर्ष महासचिवमा पराजित भएकी मेनुका श्रेष्ठ प्रतिस्पर्धामा छन् । महिला उद्यमी श्रेष्ठ संघको कार्यसमिति र विभिन्न उपसमितिमा रहेर कार्य गरिसकेकी छन् । यसैगरी महासचिवमा जानुका पराजुली अधिकारीले उम्मेदवारी दिएकी छन् ।

अधिकारी पनि सदस्य,उपमहासचिव हुँदै महासचिव पदमा उम्मेदवार बनेकी हुन । अधिकारीलाई श्रेष्ठ प्यानलबाट जीवन तिवारीले चुनौती दिएका छन् । तिवारी एक कार्यकाल सदस्य पछि क्रमश अघि बढेकी अधिकारीलाई चुनौती दिन आईपुगेका हुन । उपहासचिवमा अधिकारी प्यानलबाट भरत ओझाले उम्मेदवारी दिएका छन् । ओझा यसअघि सदस्य र कोषाध्यक्ष भैसकेका छन् भने उनका विरुद्ध भिमबहादुर नेपालीले उम्मेदवारी दिएका छन् । नेपाली अघिल्लो पटक पनि ओझासँग पराजित भएका थिए । नेपाली माओवादी केन्द्र निकट मानिन्छन् ।

संघको कोषाध्यक्ष पदमा अधिकारी प्यानलबाट धु्रववावु भट्टराई आईडी र श्रेष्ठ प्यानलबाट पुष्पमणि भण्डारी चुनावी प्रतिस्पर्धामा छन् । भट्टराई दुई कार्यकाल सदस्य पछि कोषाध्यक्षमा उम्मेदवारी दिएका हुन भने भण्डारी एक कार्यकाल सदस्य पछि कोषाध्यक्षमा उत्रिएका हुन ।

खुल्ला आठ सदस्य पदमा अधिकारी प्यानलबाट हरि बस्ताकोटी, गंगा मल्ल, भरत थापा, बिरेन्द्र बानियाले उम्मेदवारी दिएका छन् । बस्ताकोटी, थापा र बानिया एक कार्यकाल सदस्य भैसकेका उम्मेदवार हुन भने मल्लले महिला सदस्यमा रहेर एक कार्यकाल पुरा गरेकी छन् भने राजन बड्गामी, अघिल्लो पटक झिनो मतले पराजित भएका थिए । नयाँ अनुहारमा युवा व्यवसायी अर्जुन भण्डारी, बिरेन्द्र भूर्तेल र विन्दुचन्द्र बराल रहेका छन् ।

महिला सदस्यमा प्रतिक्षा रानाभाट र प्रभा लामिछाने अधिकारी प्यानलबाट प्रतिस्पर्धामा रहेका छन् । दुवै जना नयाँ अनुहार हुन । संस्थागत सदस्यमा हार्डवयर एशोसियशनका निवर्तमान अध्यक्ष समेत रहेका व्यवसायी बिजय गुरुङ प्रतिस्पर्धामा रहेका छन् । गुरुङसँग एमाले निकटका कुलबहादुर गुरुङले श्रेष्ठ प्यानलबाट उम्मेदवारी दिएका छन् । गुरुङ यसअघि मनोनित सदस्य रहीसकेका छन् । अधिकारी प्यानलबाट एशोसियट सदस्यमा उम्मेदवारी दिएका प्रेमप्रसाद शर्मा भने निर्विरोध भैसकेका छन् ।

श्रेष्ठ प्यानलबाट आठ खुल्ला सदस्यमा भविन पुन, भुवानी प्रसाद पौडेल, ईञ्जिनियर बिजय न्यौपाने, खेमराज बराल, कृष्ण प्रसाद सुवेदी, एलपि ढुंगाना, सुर्यप्रकाश ढुंगाना र टिकाराम सापकोटा रहेका छन् । पुन र पौडेल नेकपा माओवादी केन्द्र निकट मानिन्छन् भने एलपि राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक हुन । न्यौपाने, बराल, सुवेदी, सुर्यप्रकाश र सापकोटा एमाले निकट मानिन्छन् । बराल, एलपि र टिकाराम यसअघि पनि संघको चुनावी प्रतिस्पर्धामा पराजित भएका उम्मेदवार हुन । श्रेष्ठ प्यानलबाट महिला सदस्यमा जमुना गिरी र सुमित्रा बञ्जराले उम्मेदवारी दिएका छन् । गिरी र बन्जरा नयाँ अनुहार हुन ।

सदस्यहरुमा श्रेष्ठ प्यानल भन्दा अधिकारी प्यानलका उम्मेदवार बलिया देखिएका छन् । अधिकारी प्यानलमा चार जना पुरानै अनुहारले दोहोर्याएका छन् । राजनितिक दलहरुले पनि संघको निर्वाचनलाई अस्तित्वको लडाईका रुपमा लिएका छन् । अधिकारी प्यानललाई जिताउन काग्रेसको नेतृत्व तथा शुभचिन्तकहरु र श्रेष्ठ प्यानललाई जिताउन एमालेको जिल्ला देखी स्थानीय नेतृत्व र समर्थकहरुलाई प्रचारका लागि अगाडी सारेको छ । प्रजातान्त्रीक खेमाले अधिकारीलाई जिताएर विरासत जोगाउने खेलमा छ भने बामपन्थीहरुले संघको नेतृत्वमा तेश्रो पटक बामपन्थी पक्षधर उम्मेदवारलाई जिताएर ईतिहास रच्न खोजेको देखिन्छ ।

उद्योगी व्यवासायीहरुको निर्वाचन भएकाले पुरै एकै प्यानलको नतिजा आउनेमा भने मतदाताहरु विश्वस्त छैनन । नतिजा मिश्रित आउन सक्छ एक व्यवसायीले भने दुवै प्यानलबाट केही उम्मेदवार बाहिरिन सक्छन् । संघको निर्वाचनमा एशोसियट, संस्थागत र साधारण सदस्य गरी एक हजार ८ सय ६६ मतदाता रहेका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखी ५ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक बरिष्ठ अधिबक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए ।



Tags: