अर्थतन्त्र सकारात्मक सुचकमा छ- अर्थमन्त्री महत

-


     क्लिक गण्डकी     
     भाद्र १८ गते २०८० मा प्रकाशित


अर्थतन्त्र सकारात्मक सुचकमा छ अर्थमन्त्री महत

अर्थतन्त्र सकारात्मक सुचकमा छ- अर्थमन्त्री महत

पोखरा, १८ भदौ/ अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक सुचकबाट अगाडी बढेको बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भूकम्प, नाकाबन्दी, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए ।

उनले नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने बताउदै अलिकति समस्या आयो भन्दैमा निराश हुनु नपर्ने बताए । राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक हुनु पर्नेमा उनको जोड् थियो ।

उनले आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार लागि परेको बताए । अर्थमन्त्री डा. महतले पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताए । उनले नेपाल र पोखरामा पर्यटनका विकासका लागि पोखरालाई पर्यटनको ट्रान्जिट पइन्ट बन्नुपर्ने पर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखराका लागि पर्यटन लाइफलाइन भएको भन्दै यसमा सरकारले ध्यान दिनु पर्ने बताए । उनले पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय, नेपाल वायसेवा निगमले सहयोग नगरेको बताए ।

परिषद्का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराईले सरकारले पर्यटनमा बजेट विनियोजन भएपनि त्यो अनुसार प्रवद्र्धन गर्न नसकेको बताए । त्यसै गरी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्र कहिले ढल्दै त कहिले उठ्दै यो अवस्थामा आएपनि अबका दिन कठिनपूर्ण रहेको बताए । उनले विना पर्यटक व्यावसाय चलाईरहेको बताए । उनले व्यावसायी पलायनको बाटोमा रहेकोले त्यसलाई रोक्न सरकार लाग्नु पर्ने बताए ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्लो समय पर्यटन क्षेत्र निकै नै समस्याग्रस्त अवस्थाबाट गुज्रेको बताए । उनले बाटोका कारण पर्यटकले आउजामा सास्ती खेप्नुपरेको बताए ।