
माधव नेपाल निर्दोष सावित भएका छन्– प्रधानमन्त्री प्रचण्ड
पोखरा, १५ भदौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको दाबी गरेका छन् । समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले नेपाल निर्दोष साबित भएको बतादै नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको बताए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको र मुद्दा चलाउन नपर्ने भएपछि निर्दोष साबित गरेको प्रचण्डको दाबी छ । उनले सरकार ‘निर्दोष नफसुन्, दोषी नछुटुन’ भन्ने मान्यताका रहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताए । उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान, कोरोला नाका, रुइला नाका सन्चालन, विद्युत व्यापार लगाएतका विषय राख्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी मोर्चा अघि बढेको बताए । समाजवादी मोर्चाले समाजवादी क्रान्तिलाई सम्पन्न गर्ने आधारशीला बनाउन काम गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी फुट्न मात्र होइन जुट्न पनि जानेको दाबी गरेका छन् । विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हत्याराको आरोप लगाइरहेको भन्दै आपत्ति जनाए । उनले माओवादी आन्दोलनको विरुद्धमा ठूलो समूह लागे कै कारण आफुहरु समाजबादी मोर्चा बनाएर आगडी बढेको बताए ।
जसपा कार्यकारी सदस्य शिवलाल थापाले अहिलेको संघीयता र संविधानमा आफ्नो फार्टीका केही असहमति रहेको बताए । कार्यक्रमा समाजवादी मोर्चा गण्डकीको घोषणा भएको थियो ।





