
प्रशोधित पानीमा लेउ भेटिएपछि पोखराको एक पानी उद्योग शिल
पोखरा, ७ भदौ/ प्रशोधित गरिएको मिनरल वाटरमै लेउ भेटिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पानी उद्योग नै बन्द गरेको छ । पोखरा महानगरपालिका–१८ भकुन्डेमा रहेको नेपा फ्रेस मिनरल वाटरको उद्योग शिल गराएको हो । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा पुगेको अनुमगन टोलीले हालका लागि उद्योग शिल गराएर मौज्दातमा रहेका पानी बिक्रीमासमेत रोक लगाएको छ । नेपा फ्रेसले मुलको शुद्ध पानी भनेर बोत्तल र जारमा बिक्री गर्दै आइरहेको छ ।
भदौ १ गते गण्डकी प्रदेश नीति तथा योजना आयोगले लेकसाइडको एक रिसोर्टमा दोस्रो पञ्चवर्षीय योजनाको तर्जुमा सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लेउ जस्तो देखिने पानीको बोत्तल फेला परेको थियो । जुन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित ७ जना मन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र संघीयता विज्ञ सहभागी थिए ।
मुख्यमन्त्री कार्यालयले नै कैफियत देखिएको पानीको बोत्तल जिल्ला प्रशासन कार्यालयमा पठाएपछि बुधबार स्थलगत अनुमगन गरेको हो । अनुगमन टोलीसँग उद्योग सञ्चालक भीमप्रसाद शर्माले ब्याच नम्बर ६० मा उत्पादित पानीमा कैफियत देखिएको स्विकार गरे । बिजुलीको समस्याले कैफियत आएको उनले सुनाए ।
उद्योगको कागजपत्रसहित बिहीबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको अनुगनम संयोजक सहायक जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । मुद्वाको किनारा नलाग्दासम्म उद्योग बन्द गराएको जानकारी दिए । पानी परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीमार्फत प्रक्रिया अगाडि बढाइएको छ । राष्ट्रिय उपभोक्ता महासंघ कास्कीका उपाध्यक्ष मिलनप्रसाद तिवारीले प्रत्यक्ष उपभोक्तको हीत विपरित काम भएकाले उद्योगलाई कारबाही गर्नुपर्ने बताए ।





