
नानी शुक पुरस्कार नैनकुमार श्रेष्ठलाई
पोखरा, ५ भदौ/ नानी शुक स्मृति प्रतिष्ठानले यस वर्षको नानी शुक स्मृति शिक्षा पुरस्कार म्याग्दीको बेनीका शिक्षाप्रेमी एवं समाजसेवी ८१ वर्षीय नैनकुमार श्रेष्ठलाई प्रदान गर्ने भएको छ । हरेक २ वर्षमा यो पुरस्कार प्रदान गरिने सो पुरस्कारको राशि २५ हजार ५ सय २५ साथमा ताम्रपत्र छ ।
प्रतिभा छनोटका लागि प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, आजीवन सदस्य पुण्यबहादुर हिराचन, सदस्य दीर्घसिंह लालचन र संरक्षक वीरेन्द्र हिराचन रहेको चार सदस्यीय समिति गठन गरिएको प्रतिष्ठानका सहसचिव मखनलाल हिराचनले जनाए ।
२०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उनको परिवारले ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम पाखेले बताए । प्रतिष्ठानले पोखरामा असोज १ गते आफ्नो वार्षिकोत्सव तथा सम्मान समारोहबीच पुरस्कार प्रदान गर्ने जनाएको छ ।





