नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल

-


     क्लिक गण्डकी     
     श्रावण २७ गते २०८० मा प्रकाशित


नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल

नेपाल आयल निगम पोखरा झेल

पोखरा, २७ साउन/ नेपाल आयल निगमको पोखरा स्थित गगनगौंडाका प्रमुख र व्यवसायीको मिलेमतोमा पोखरामा पेट्रोलियम पदार्थको अवैध कारोबार भएको खुलेको छ । निगमको पोखरा स्थित गगनगौंडाका प्रमुख चितरञ्जन दासले चलानी बिलभन्दा बढी तेल लोड गरेर कमिसन लिने गरेको भेटिएको हो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौडा डिपो पोखराबाट बिहीबार डिजेल लोड भएको ट्यांकरमा खरिद गरेको डिजेल परिमाण भन्दा बढि भेटिएपछि ट्यांकरसहित पक्राउ परेको छ । पोखरा डाँडाको नाकमा रहेको पश्चिमाञ्चल ट्रेडर्सले खरिद गरेको डिजेल भन्दा बढी डिजेल पठाए पछि विशेष सुराकीको आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले ट्यांकर सहित पक्राउ गरेको हो ।

१२ हजार लिटर डिजेलको बिल काटिएकामा नेपाल आयल निगमका नेपाल आयल निगमको पोखरा स्थित गगनगौंडाका प्रमुख चितान्दक दासले करिब १५ हजार लिटर लोड गरिदिएका थिए । प्रारम्भिक अनुमान अनुसार दासले यसरी बढी लोड गरेबापत कमिसन लिने गरेको कर्मचारीहरु ब्ताउ छन् । डिजेल ढुवानीमा प्रयोग गरिएको पश्चिमाञ्चल ट्रेडर्सको ग२ख ८३६ नम्बरको ट्यांकर बिहीबार डाँडाको नाकबाट समातिएको हो । छानबिन गर्दा बिलभन्दा बढी डिजेल लोड भएको प्रमाणित भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । उनले थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाएको बताए ।

ट्यांकर समातिएपछि कार्यालय प्रमुख दास सम्पर्कविहीन छन् । बिहीबार ट्यांकर समातिने बित्तिकै प्रशासनले दासलाई डाँडाको नाकमा उपस्थित हुन भनेको थियो । तर उनी उपस्थित भएनन् । दास मोबाइल अफ गरेर सम्पर्कविहीन भएको निगमका कर्मचारीहरु बताउ छन् ।

पोखराको प्रादेशिक कार्यालयमा आइपुग्दा सुरुमा भरिएको भन्दा डिजेलमा ० दशमलव २ प्रतिशत र पेट्रोलमा ० दशमलव ८ प्रतिशत परिमाण घट्नु सामान्य भएपनि त्यो भन्दा बढी नोक्सान हुने गरेको विवरण निगममा छ । दासलाई केन्द्रीय कार्यालयले नै अपरेसनमा नजान निर्देशन गरेपनि नटेरेको बताइएको छ । निगमका अनुसार दास कार्यालय प्रमुख भएर आएपछि पोखरा कार्यालयले अघिल्लो वर्ष भन्दा दोब्बर नोक्सानी व्यहोरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यसको अनुसन्धान र थप कारबाहीका लागि अख्तियार कार्यालयलाई जिम्मा दिएको छ । दास यसअघि धनगढी, झापा र भैरहवामा रहँदा पनि विवादित थिए । उनलाई निगमले अनुसन्धान नसकिए सम्मका लागि निलम्बन गरेको छ । पोखराको प्रादेशिक कार्यालयबाट कास्की सहित तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा पेट्रोलियम पदार्थ दिदै आएको छ । दैनिक ३ लाख लिटर डिजेल र १ लाख २० हजार लिटर पेट्रोल गगनगौंडाले विक्रि हुदै आएको छ ।