
पोखरा महेन्द्रपुल स्थित साँघुमुख पार्कको सेरवाल भत्कियो तस्बिरः उमेश रेग्मीको फेसबुकबाट
पोखरा, २२ साउन/ पोखरा–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि बनाएको सेरवाल भत्किएको छ । रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल सेरवाल गएराति भत्किएको हो ।
पोखरा महानगरपालिका र पोखरा महानगरपालिका वडा नम्बर–९ को आर्थिक सहयोगमा बनेको सेरवाल भत्किएको हो । करीब ३७ लाखको लागतमा ६० मिटर लम्बाई र २० मिटर उचाईको सेरवालको दुईतिहाई भाग भत्किएर सेती नदीको डिलमा पुगेको छ ।
आइतबार साँझ वर्षा भैरहेका बेला साढे ८ बजे ठूलो आवाजसहित सेरवाल भत्किएको स्थानीयले बताएका छन् ।
सेती नदीको डिलमा पार्क निर्माण गर्न लागिएको र त्यसभन्दा माथिल्लो भाग भिरालो भएकाले सेरवाल बनाएर सुरक्षित गर्न सेरवाल निर्माणको योजना अगाडी बढाएको थियो ।
एक हप्ताअघि मात्र निर्माण सम्पन्न भएको शेरवालको माथिल्लो भागमा माटो भरेर त्यसै छाडिएको थियो । निरन्तर पानी परेपछि सो माटोको भार थेग्न नसकेर सेरवाल भत्किएको हुनसक्ने अनुमान गरिएको छ । सो सेरवाल महेन्द्रपुल–साँघुमुख उपभोक्ता समितिमार्फत बनेको थियो ।





