
पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह
सागर राज तिमिल्सिना
पोखरा, २२ साउन/ पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण ह्वातै बढेको छ । हिमालय आँखा अस्पताल घारीपाटनमा आँखा परीक्षण गर्न आउनेमा आँखा पाक्ने रोग भएका बिरामीको संख्या धेरै छ । यो रोगबाट बच्न सबै जना सचेत हुने र सरसफाइमा ध्यान दिनु पर्ने चिकित्सकको भनाई छ ।
पोखरा र देशै भरी केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण बिरामीहरु ह्वातै बढेको छन् । आँखा पाक्ने रोगका कारण बालबालिकामा बढि संक्रमिण देखीएको छ । आइतबार पोखराको हिमालयन आँखा अस्पतालमा परीक्षण गर्न आउने मध्ये ६ सय जना आँखा पाकेर आउनेहरु रहेको हिमालयन आँखा अस्पतालकी स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिइन् ।
सोमबार पनि सोही हाराहारीमा विरामीहरु उपचारका लागि आएका छन् । उनले यो हप्ता मात्रै करिब २ हजार जना आँखा पाक्ने रोगका विरामी परीक्षणको लागि आएको बताइन् । उनले विद्यालय तहबाट धेरै फैलिएका कारण केही दिन विद्यालय बन्द गर्नु पर्ने अवश्था देखीएको श्रेष्ठको भनाई छ ।
बिरामीमा आँखा रातो हुने, आँशु आउने, बिझाउने, चिप्रा लाग्ने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने जस्ता समस्या देखिएको छ । आँखा परीक्षण गरी डाक्टरको सल्लाह अनुसार उपचार गर्न डा श्रेष्ठले सोमबार आयोजीत पत्रकार सम्मेलनमा सल्लाह दिइन् । जथाभावी औषधिको प्रयोग नगर्न र आँखा नमिच्न उनको सुझाब थियो । डा श्रेष्ठले आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने बनाइन् । आँखाको सङ्क्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधि लगायतका सामग्री साटासाट गर्दा यो रोग चाडै सर्ने हुदाँ त्यसो नगर्न उनको सुझाब छ ।
विगतको तुलनामा यस वर्ष आँखा पाक्ने समस्या बढी देखिएको उनको भनाई छ । आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । कतिपय ठाउँमा त स्थानीय सरकारले विद्यालयल बन्द गरेका छन् । बालबालिका बाटै अविभावकलाई पनि सरेको छ । उपचारका लागि हिमालन आँखा अस्पताल पोखरा आएका पोखरा ९ पृथ्वीचोकका मनोजकुमार छिटिले पहिले छोरालाई आएको र त्यसैबाट आफुलाई सरेको बताए ।
डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । तर, यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ । धेरै ठाउँमा प्रकोपको रुपमा सङ्क्रमण फैलिरहेकाले महामारी फैलिने खतरा रहेको भन्दै सावधानी अपनाउन डाक्टरको सुझाव छ । आँखा पाक्ने रोगबाट जोगिन हातले आँखा नछुन, बारम्बार हात धुन र सङ्क्रमित बिरामीबाट टाढै रहनु पर्ने छ । यो रोग हावाबाट भने नसर्ने तर विरामीका आँखामा छोएर विरामी नभएका आँखामा छुदा भर्ने सर्ने डाक्टरहरु बताउ छन् ।






