
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १६ साउन/ काठमाडौं–भुटान उडान गर्दै आएको भुटान एयर लाइन्सले थप पोखरा र भैरहवा सिधा उठानका लागि अनुमति मागेको छ । भुटान सिभिल एभिएसन अथोरिटीले नेपालका थप दुई सहरमा सिधा उडान अनुमति दिन प्राधिकरणलाई पत्रपठाएको छ ।
भुटानले दुई अन्तर्राष्ट्रिय वायुसेवाबाट पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा सिधा व्यावसायिक उडानका लागि अनुमति मागेको प्राधिकरणले जनाएको छ । भुटान सरकारले तोकेका दुई वायुसेवालाई अनुमति दिन प्रक्रिया चाँडै अघि बढाउने प्राधिकरणको भनाई छ ।
नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा बौद्धमार्गी पर्यटक लाभान्वित हुन सक्ने भुटानको आकलन छ ।
सञ्चालनमा आएको ७ महिना बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि विदेशी वायुसेवाले नियमित उडानको अनुमति गरेका छैनन् । विभिन्न कम्पनीले सिधा उडानका लागि चासो राखे पनि नियमीत उडान हुन सकेको छैन ।
पूर्वी इलामको आकाश हुँदै गल्फ–३४८ रुटबाट जहाजले भुटान आउने जाने गरेको छ । त्यही रुट काठमाडौंको आकाश हुँदै पोखरासँग जोडिएको छ ।
एक वर्षअघि सञ्चालनमा आएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयर र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।





