
भुवनबहादुर क्षत्री
पोखरा, ३१ असार/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको मतदानमा भट्टराई २ सय ३८ मतसहित निर्वाचित भए ।
नेतृत्वका लागि ४ जना चुनावी मैदानमा थिए । निकटतम् प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १ सय ४६ मत, कृष्णहरि केसीले २१ र देवीदास भट्टराईले ११ मत पाए ।
त्यसै गरी ३ उपाध्यक्षमा एन्ड्रीयु पौडेल (लक्ष्मण) २ सय २८ मत, भुवनबहादुर क्षत्री १ सय ७२ मत र गीता शिवाकोटी १ सय ५२ मतसहित निर्वाचित भए । भुवन पोखराको टार्गेट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् ।
उपाध्यक्षमा ११ जना प्रतिस्पर्धी थिए । इक्यान कास्कीका पूर्व अध्यक्ष र हाल सल्लाहकार समितिका सभापति रहेका पोखराका क्षत्रीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने इक्यान कास्कीले नै यसअघि निर्णय गरेको थियो ।
महासचिवमा दीपकराज भुसाल निर्वाचीत भए । शेषराज समूहबाट चुनाव लडेका उनले २ सय ५५ मत पाए । उनका प्रतिस्पर्धी विष्णुहरि प्यानलका वासुदेव दाहालले १ सय ६० मत पाए ।
सचिवमा भवनाथ हुमागाईं र रत्नबहादुर भट्टराई निर्वाचित भए । कोषाध्यक्षमा २ सय ८ मतसहित आशिक कार्की र सहकोषाध्यक्षमा २ सय १६ मतसहित विकल्पराज पोखरेल विजयी भएका छन् ।
कार्यसमिति सदस्यमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशीष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिए ।





