
नेपालको पहिलो प्यारापाइलट राजेश बमजनलाई लाइफटाईम अचिभमेन्ट अवार्डबाट
पोखरा, २९ असार/ नेपालको पहिलो व्यवसायिक प्याराग्लाइडिङ पाइलट राजेश बमजनलाई लाइफटाईम अचिर्भमेन्ट अवार्डले सम्मान गरिएको छ । नेपाल प्याराग्लाइडिङ पाइलट क्लब पोखराको चौथो अधिवेशनमा साहशिक खेल प्याराग्लाइडिङ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै बमजनलाई सम्मान गरिएको हो ।
नेपाल पर्यटन बोर्डको पूर्व सदस्य तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्राई, नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराई, नेपाल प्याराग्लाईडिङ पाइलट क्लबका अध्यक्ष विमल अधिकारी लगायतले बमजनलाई सम्मान गर्दै अवार्ड प्रदान गरे ।
पर्यटन व्यवसायी बिरु बमजन र बेलायतका नागरिक एडम हिलले सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ खेलका गतिविधि सुरु गरेका थिए । बिरुका छोरा राजेशले त्यसै समय देखि एकल उडान सुरु गरेका थिए । राजेशले सोलो उडानमा दक्ष भएपछि त्यसै वर्ष टेण्डम उडान सुरु गरेका थिए ।
सन् २००० मा नेपालकै पहिलो प्याराग्लाइडिङ कम्पनीको रुपमा सनराइज प्याराग्लाइडिङ दर्ता गरेर एडम हिल र बिरु बमजनले नेपालमै पहिलो पटक शहासिक प्याराग्लाईडिङ खेल पोखरामा भित्रयाएका थिए । एडम संग प्याराग्लाइडिङ उडान सिकेका राजेश बमजनले सन् २००० देखि नै व्यवसायिक उडान सुरु गरेको बताए ।
कार्यक्रममा सन् २०१८ मा प्याराग्लाइडिङ खेलबाट एशियाली खेलुकदमा रजत पदक विजेता खेलाडी, सन् २०१२ मा सर्वोच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङमा उडेर समुन्द्री सतहसम्म पुग्न सफल सानोबाबु सुनुवार र लाक्पा छिरी शेर्पालाई सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न अन्तर्राष्ट्रय प्रतिस्पर्धामा बिभिन्न उपाधि जितेका पाइलटलाई सम्मान गरिएको थियो ।





