
माउन्ट कैलाश रिसोर्टसहित पोखराका तीन होटलमा क्यासिनो सञ्चालनको तयारी
पोखरा, २७ असार/ पोखराको लेकसाइड रहेको माउन्ट कैलाश रिसोर्ट सहित तीन वटा होटलमा क्यासिनो सञ्चालन हुने भएको छ । चार तारे रिसोर्टमा मिनी क्यासिनो सञ्चालन गर्न पाइन्छ । पोखरामा यस अगाडी फुलबारी रिसोर्ट र होटल पोखरा ग्रान्डमा क्यासिनो भएपनि केही वर्ष पहिले देखी नै बन्द भएका छन् ।
माउन्ट कैलाश रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालि उद्योग विभागमा दर्ता भएको छ । पर्यटन विभागले क्यासिनो सञ्चालनका लागि अध्ययन गरी पर्यटन मन्त्रालयमा सिफारिस गर्ने छ । पर्यटन मन्त्रालयबाट अनुमति पाएसँगै क्यासिनो सञ्चालन हुनेछ । साउनबाट सञ्चालनका लागि पहिले नै साढे २ करोड राजश्वय सरकारलाई बुझाएर क्यासिनो सञ्चालनका अनुमति लिने व्यवस्था छ ।
माउन्ट कैलाश रिसोर्टमा २१ करोड रूपैयाँको लगानीमा क्यासिनो सञ्चालनका लागि कम्पनीले पर्यटन विभागबाट सिफारिस लिँदै उद्योग विभागमा दर्ता भएको हो । कम्पनीलाई क्यासिनो सञ्चालनका लागि रिसोर्टले अनुमति दिनुपर्छ । रिसोर्टको अनुमति पाएपछि उद्योगमा दर्ता भएको हो ।
क्यासिनोमा १ सय भन्दा बढिले रोजगारी पाउने व्यवसायी बताउ छन् । अहिले क्यासिनो सञ्चालनका लागि काम भइरहेको छ । हल निमार्णको काम सम्पन्न भएको छ । माउन्ट कैलाशमा ५१ वटा रुप रहेको छ । रिसोर्ट २००९ सालदेखि सञ्चालनमा आएको हो ।
नेपालका क्यासिनोमा विदेशी नागरिकलाई मात्रै खेल्ने अनुमति हुन्छ । पोखरामा भारतीय र चिनियाँ पर्यटकलाई लक्षित गर्दै ३ वटा क्यासिनो सञ्चालनका लागि पक्रियामा छन् । मिनी क्यासिनोको लागि चारतारे होटलसँग क्यासिनो कम्पनीले सम्झौता गर्नुपर्छ ।
पोखरामा क्यासिनो सञ्चालन गर्नेगरि भेन्टनम इन्टरनेशनले प्रालि र प्लेजर नेपाल प्रालि उद्योग विभागमा दर्ता भएको छ । पोखराको लेकसाइडमा रहेको हेरिटेज होटल एण्ड स्पामा सञ्चालन हुनेगरि भेन्टनम क्यासिनो दर्ता भएको छ भने होटल सरोवर प्रालिमा क्यासिनो सञ्चालन गर्ने गरी प्लेजर नेपाल प्रालि दर्ता भएको छ ।





