
चेतबहादुर गुरुङ
काठमाडौं, २६ असार/ मंगलबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर निधन हुने पाइलट कास्कीको रुपा गाउँपालिकाका चेतबहादुर गुरुङ रहेका छन् । मनाङ्ग हेलिकप्टर दुर्घटनामा रुपा गाउँपालिका ६ मोहरिया घर भई ललितपुर भैसेपाटी बस्दै आएका पाइलट चेतबहादुर गुरुङको निधन भएको हो ।
हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामजुरामा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ ।
चेतबहादुर गुरूङ सिनियर पाइलट हुन् । गुरूङले सोमबार (हिजो) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे पाँच जना मेक्सिकनलाई लुक्ला लगेर गएका थिए । ती मेक्सिकन ‘माउन्टेन फ्लाइट’का लागि गएका थिए । हिजो उनीहरू लुक्लामै बसे ।
मंगलबार माउन्टेन फ्लाइट सकेपछि उनी आज काठमाडौं फर्किन लागेका थिए । उनीहरूलाई लिन पाइलट गुरूङ नै गएका थिए । काठमाडौं फर्कने क्रममा सवा १० बजे हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।
मनाङ एयरको हेलिकप्टर उडाउनुअघि उनले रूस र अफगानिस्थानमा समेत हेलिकप्टर उडाएका थिए । उनको परिवारका अरू सदस्य अहिले बेलायतमा बन्दै आएका छन् ।
गत माघ १ गते पोखरामा यति एअरलाइन्स दुर्घटनामा कास्की रुपा गाउँपालिका ३ निवासी पाइलट कमल केसीको निधन भएको थियो ।





