एसइईमा ४ जिपिए ल्याउनेलाई मदरल्याण्डका विद्यार्थीलाई सम्मान

-


     क्लिक गण्डकी     
     असार २३ गते २०८० मा प्रकाशित


एसइईमा ४ जिपिए ल्याउनेलाई मदरल्याण्डका विद्यार्थीलाई एक लाख सम्मान

एसइईमा ४ जिपिए ल्याउनेलाई मदरल्याण्डका विद्यार्थीलाई एक लाख सम्मान

पोखरा, २३ असार/ भर्खरै प्रकाशन भएको यस वर्षको एसईईको नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयबाट सहभागी भई ४ जिपिए ल्याएका जोन राना र सुदेश आचार्यलाई शनिबार विद्यालयमा आयोजित दीक्षान्त समारोहमा नगद रू ५०र५० हजार र सम्मानपत्रका साथ सम्मान गरिएको छ।

संसारमा त्यो मानिस सफल हो जसले आफ्ना अभिभावकलाई सधैं खुसी राख्न सक्छ भन्दै ४ जिपिए ल्यउन सफल जोन राना र सुदेश आचार्यले पढाइमा आफूलाई समाहित गरेर निरन्तर अभ्यासमा जुट्न सके आशातीत नतिजा हासिल गर्न सकिने कुरा बताए । साथै अबको दुई वर्ष यसै विद्यालयको मायालु वातावरणमा अध्ययन गरी उच्च शिक्षाको ढोका खोल्ने चाहना व्यक्त गरे।

सोही कार्यक्रममा दस जोड दुईका इन्चार्ज नारायण आचार्यले विद्यालयले दस जोड दुईतर्फ सञ्चालन गरेको विज्ञान र व्यवस्थापन समूहका बारेमा जानकारी गराउनुभएको थियो। त्यसै गरी विद्यालय निर्देशक त्रिभुवन शर्माले जीवनमा आइपर्ने परिस्थितिसँग सहज रूपमा जुध्न सक्ने बन्नुपर्ने कुरा उल्लेख गर्दै शिक्षाले असल आचरण र चरित्र निर्माणमा विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । साथै एसईईपछिको दुई वर्षले भविष्यको यात्रा निर्देश गर्ने भएकाले उच्च लगनशीलताका साथ अध्ययनमा जुट्नसमेत अग्रह गर्नुभएको थियो।

कक्षा दसमा अध्यापनरत सम्पूर्ण शिक्षक शिक्षिकाहरूलाई सम्मान गरिएको सो कार्यक्रममा यस वर्ष एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई पनि खादा, मेडल र सम्मानपत्रले सम्मान गरिएको थियो । यस वर्ष मदरल्याण्डबाट एसईईमा सहभागी भएका जम्मा १५१ जना विद्यार्थीमध्ये २ जना ४ जिपिएसहित ७२ जनाले ए प्लस, ४६ जनाले ए, ३१ जनाले बी प्लस र २ जनाले बी ग्रेड ल्याउन सफल भएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अङ्ग्रेजी विभागका विभागीय प्रमुख तथा वैदेशिक अध्ययन विद्यार्थी परामर्शकर्ता बामनकुमार घिमिरेले गर्नुभएको थियो भने कार्यक्रममा प्राचार्य नारायण बराल, शिक्षक तथा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराई लगायतले बोल्नुभएको थियो।