
National Coordinating Council
पोखरा, १६ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र संघीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताएका छन् ।
शनिबार पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषदको प्रथम बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीले संघीयताको मर्म र यसको दीर्घकालीन महत्व बुझनुपर्ने बताए । उनले जति छिटो र राम्रो कार्यसम्पादन गरेर जनतालाई सेवा दिन सक्यो त्यति नै मात्रामा संघीयताबाट लाभ लिन सक्ने बताए ।
उनले संघीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण नभएको बताए । उनले कतिपय शक्तिहरू यस (संघीय गणतन्त्र) लाई ढलाउन सकिन्छ कि भनेर लागिरहेको बताए । पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेका उनको भनाई छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ, विपक्षी दलको तर्फबाट पूर्वमन्त्री विष्णु पौडेल, प्रदेशका मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका सचिवहरू, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ र गाउँपालिका महासंघका प्रमुखहरू लगायत सहभागी थिए ।
बैठकले संघीयताको प्रभावकारी कार्यान्वयन सम्बन्धी विविध प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णयसमेत गरेको छ ।





