
पोखरामा जलवायु परिवर्तनबारे सम्मेलन शुरु
पोखरा, १४ असार/ हिमालको हिउँ पग्लिदो छ । बेमौसमी बर्खाले सबैलाई हैरानी दिएको छ । जलवायु परिवर्तनबारे सचेतनासहित स्थानीय समस्या समाधानमा विश्वस्तरमै कसरी सम्मस्या ल्याएको भन्ने बारेमा युवाहरुलाई जानकारी दिन पोखरामा जलवायु परिवर्तनबारे सम्मेलन सुरु भएको छ । नेपाल युयस अलम्नाई नेटवर्क र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर) को सहआयोजनामा सम्मेलन शुरु भएको हो ।
सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै प्रदेश सरकारले जलवायु परिवर्तन सम्बन्धमा कार्य गर्न गण्डकीले बजेट विनियोजन गरेको बताए । उनले पहाडी क्षेत्रमा प्राकृतिक प्रकोपको प्रभाव न्यूनीकरण गर्न सडक बनाउनुअघि अध्ययनमा जोड दिए । उनले आगामी दिनमा वन डढेलो न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा आगामी आर्थिक देखी ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला प्रतिबन्ध लगाउने तयारी भएको बताए । उनले २३०० सम्म कार्बन शून्य नगरपालिकाका रुपमा रुपान्तरण गर्न लक्ष्य लिएको बताए । अमेरिकी दूतावासका पब्लिक अफियर चिफ ग्यारेट इ.वाल्करसनले अमेरिकाले कार्बन उत्सर्जन कम गर्न २ सय ७० बिलियन डलरभन्दा बढी लगानी गरेको बताए ।
युएसआइडीमार्फत जलवायु परिवर्तनबाट उत्पन्न संकटको न्यूनीकरणका लागि अनुकूलन र लचिलोपन प्रदर्शन गर्ने गरेको बताए । सम्मेलनमा नेपाल युयस अलम्नाई नेटवर्कका महासचिव प्रदीप खतिवडाले पोखरा क्षेत्रमा जलवायु परिवर्तनबारे विश्वव्यापी रुपमा मानिसले थाहा पाओस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा रहेका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत ६० जना युवाले भाग लिएको नेटवर्कका सेक्रेटरी बामकुमार घिमिरेले जनाए ।







