पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवस, पोखरा पत्रकारिता सम्मान लक्ष्मी हाउसलाई

-


     क्लिक गण्डकी     
     असार १२ गते २०८० मा प्रकाशित


पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवस, पोखरा पत्रकारिता सम्मान लक्ष्मी हाउसलाई

पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवस, पोखरा पत्रकारिता सम्मान लक्ष्मी हाउसलाई

पोखरा, ११ असार/ पोखरा पत्रकारिता सम्मान लक्ष्मी हाउसलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवसका अवसरमा पोखरा पत्रकारिता सम्मानबाट लक्ष्मी हाउस पोखरालाई सम्मान गरिएको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेले लक्ष्मी हाउसका अध्यक्ष गणेश श्रेष्ठलाई सम्मान पत्र, दोसल्ला र माला सहित सम्मान गरे ।

सम्मान गर्दै मन्त्री आलेले पत्रकारिता पेशा नै गाह्रो पेशा भएको उल्लेख गरेका छन् । राज्यका अरु अंगले धेरै सुविधा पाउँदा चौथो अंग अझै संघर्षमा रहेको भनाई उनको छ । पत्रकारका नाममा केही पत्रकारले नाजायज काम गरेको भन्दै त्यस्तालाई नियन्त्रणमा लिनुपर्ने आवश्यकतालाई समेत उनले औंल्याएका छन् । वेथिति विरुद्ध पत्रकारको भूमिका महत्वपूर्ण भएकाले यसलाई अझ प्रभावकारी बनाएर लैजानुपर्ने उनले बताए ।

मन्त्री आलेले राज्यले सहयोग गर्यो भन्दैमा राज्य विरुद्ध लेख्न हुँदैन भन्नु गलत भएको बताए । उनले सोसल मिडियामा आएको विषयवस्तुलाई मात्र आधार बनाएर समाचार बनाइनु गलत भएको उल्लेख गरेका छन् । आधारहीन समाचारले पत्रकारिता क्षेत्र नै धुमिल भएको तर्क उनको छ । ‘पत्रकारिताको धर्म र मर्म अनुसार सत्यतथ्यमा आधारित समाचार आउनुपर्छ । तर यहाँ केहि पत्रकारले गलत सूचनाका आधारमा समाचार लेख्दा समग्र पत्रकारिता क्षेत्रमा नै असर पुर्याएको छ ।’, आलेले भने ।

मन्त्री आलेले नेपाली काँग्रेस नेतृत्वको गण्डकी सरकारले नै प्रेसमैत्री आम संचार विधेयक पास गर्ने बताए । अहिलेको बजेटमा पत्रकारहरुको जीवन बीमा र लेखन वृतिका लागि बजेट विनियोजन गरिएको जानकारी गराए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् प्राध्यापक डा.सुरेश आचार्यले पत्रकार र पत्रकार महासंघको सदस्य फरक कुरा भएको बताए । उनले सबै पत्रकारहरु महासंघको सदस्य हुन्छन् भन्ने नभएको उल्लेख गरे । व्यवसायिक पत्रकारिता आजको आवश्यकता भएको भनाई उनको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले संस्थाको भौतिक विकास र उन्नयनमा महत्वपूर्ण भूमिका खेलेका संस्थाहरुलाई वर्षेनी महासंघले सम्मान गर्दै आएको जानकारी गराइन । सोहि अनुसार यसपाली लक्ष्मी हाउसलाई सम्मान गरिएको भनाई उनको छ । उनले कास्कीका पत्रकारिताको व्यवसायिक विकासका लागि महासंघ क्रियाशिल भएर लागिरहेको बताइन् । पत्रकारिता क्षेत्रमा आएका चुनौतीलाई चिर्दै अगाडि बढिरहेको तर्क उनको छ ।

भण्डारीले पत्रकारिता क्षेत्रमा राज्यको ध्यान कमजोर हुँदा सोचेअनुरुपको परिवर्तन आउन नसकेको बताइन् । समाचार संकलनका क्रममा पत्रकार माथि हुने आक्रमणमा महासंघ चुप लागेर नबस्ने भनाई उनको छ । उनले कास्कीमा पनि शुद्धिकरणको म्याण्डेट अनुसार पत्रकारहरुको शुद्धिकरण गर्ने गरी अगाडि बढेको उल्लेख गरिन् ।

लक्ष्मी हाउस पोखराका अध्यक्ष गणेश बहादुर श्रेष्ठले सत्यमा आधारित समाचार प्रक्षेपण गर्न पत्रकारलाई अनुरोध गरेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले पत्रकारका कारण नै विन्ध्यवासिनी उच्च स्थानमा रहेको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अगुवाईमा प्राकृतिक चिकित्सालय निर्माण गरी नागरिकलाई उपचारमा सहज बनाएको भनाई उनको छ । साथै लक्ष्मी हाउसलाई संस्थागत सम्मान गरेको प्रति उनले धन्यवाद दिएका छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष उमाकान्त शर्माले पत्रकारिता राजनीतिक विचारका आधारमा भन्दा पनि नागरिकको आवाजलाई बुलन्द बनाउने तवरले अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा पूर्व अध्यक्ष बद्री विनोद प्रतिक लगायतले बोलेका थिए । सो अवसरमा महासंघ कास्कीले दुई दिनसम्म ‘पत्रकारितामा स्वार्थको टकराव’ विषयक कार्यशाला राखेको छ । बुधबार सम्म चल्ने कार्यशालामा युनिभर्सिटी अफ अटवा, क्यानाडाका प्राध्यापक डा. भानुभक्त आचार्य र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेश आचार्य, पत्रकार वाशुदेव मिश्रले सहजीकरण गरेका छन् ।