
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
पोखरा, ३१ जेठ/ पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र नवजात शिशुको मृत्यु भएको छ ।
सोमबार राति तनहुँको व्यास नगरपालिका १२ कमलबारीकी २६ वर्षीया शर्मिला दरै र नवजात शिशुको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनी जेठ २८ गते अस्पताल भर्ना भएकी थिइन् । सोमबार बिहान ११ बजे स्वास्थ्यकर्मीले शर्मिलालाई बेथा लाग्ने औषधी दिएका थिए ।
दिउँसो ४ बजेतिर अर्को डोज औषधी दिएलगत्तै उनको स्वास्थ्यमा समस्या आएको उनका आफन्तले बताए । राति ११ बजेतिर शर्मिलाको निधन भएको र लगत्तै पेटबाट शिशु अप्पेसन गरेर निकालिए पनि शिशुको पेटमै निधन भएको थियो ।
शर्मिलाका आफन्तले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीकै कारण आमा र शिशुको निधन भएको आरोप लगाएका छन् ।
अस्पतालका निर्देशक प्राडा भरत खत्रीले आमा र शिशुलाई बचाउन प्रयास गरे पनि नसकिएको भन्दै अस्पतालका तर्फबाट कुनै लापरबाही नभएको बताए । पाठेघरमा बच्चा बस्ने ठाउँको पानी फोक्सोमा गएका कारण शर्मिलाको निधन हुन सक्ने अस्पतालले जनाएको छ ।





