
पोखराका रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुल्ला
सागरराज तिमिल्सिना
पोखरा, १५ जेठ/ पूर्वराजपरिवार पोखरा आउदा बस्नका लागि बनाएको रत्नमन्दिर दरबार गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला भएको छ । पटक पटक खुलाउने भनिएपनि अहिले गणतन्त्र दिवसको अवसर पारेर खुल्ला गरेको हो ।
शाहवंशीय राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा पोखरा ६ लेकसाइडमा निमार्ण भएको ‘रत्नमन्दिर’ दरबार गणतन्त्र दिवसको असवसर पारेर सोमबारबाट खुल्ला गरेको हो । राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा दरबार सहित १ सय ७४ रोपनी जग्गा ट्रस्टका नाममा छ । पोखरा ६ लेकसाइडमा रत्नमन्दिर दरबार २८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

कहिले खुल्ने भन्ने बहुप्रतीक्षाको विषयको रहेको रत्न मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती राईले सोमबार रत्नमन्दिर परिसर सर्वसाधारण प्रवेशका लागि उद्घाटन गर्दै खुल्ला गरे । उनले यसको संरक्षणमा स्थानीय सरकार समेत लाग्नु पर्ने बताए ।
शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने पोखरेलीको माग थियो । तर दरबारको ऐतिहासिक सामग्रीको सुरक्षा, संवेदनशीलता तथा प्राविधिक कारण भित्री भाग भने सर्वसाधारणको निम्ति खुला भएको छैन । पोखरा महानगरका प्रमुख धनराज आचार्यले लामो प्रयासपछि खुलेको रत्नमन्दिरले पोखराको पर्यटनमा थप टेवा पुग्ने विस्वास छ ।

२०६२/०६३ को दोस्रो जनआन्दोलनसँगै नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भइसक्दा समेत नेपाल ट्रष्टको नाममा रहेको रत्न मन्दिर खुल्न सकेका थिए । खुले पछि दरबार हेर्न पुगेकाहरुले खुसि व्यक्त गरे । दरबारमा प्रवेश गर्न नेपालीका लागि एक सय रुपैयाँ शुल्क तोकिने छ भने विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ । विदेशी पर्यटकबाट एक हजार तोकिएको छ ।
रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ निर्माण सम्पन्न भएको थियो । राजा महेन्द्रले सो दरबार बनाएका थिए । तीनतले दरबारमा ११ कोठा छन् । भूइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडिसी) बस्ने कोठा र आराम कक्ष छन् ।

दोस्रो तलामा पाँच कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठककक्ष छ । जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे । राजपरिवारले खेल्ने कोठा छ । दोस्रो तलामा युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो ।
सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा छ । बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौशी छ । हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन् । भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन् । काठ र ढुङ्गाबाट दरबार बनेको छ । अहिले सोमबार बाहेका बिहान १० बजे देखी दिऊसो ५ बजे सम्म खुलाउने ट्रष्टले जनाएको छ ।





