कपनको हत्याकाण्डबारे अनुसन्धान गर्न एआइजीको नेतृत्वमा छानबिन समिति गठन

-


     क्लिक गण्डकी     
     वैशाख १५ गते २०८० मा प्रकाशित


निरा आचार्य

निरा आचार्य

काठमाडौं, १५ बैशाख/ काठमाडौं कपनको सरस्वती नगरमा भएको हत्याकाण्डबारे अनुसन्धान गर्न एआइजीको नेतृत्वमा ११ सदस्यीय छानबिन समिति गठन भएको छ ।

बैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट हत्या भएको थियो । अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एआइजीको नेतृत्वमा समिति गठन भएको उनले बताए ।

समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र अन्य प्रहरी एसपी र डिएसपीसमेतको सहभागितामा उच्चस्तरको छानबिन समिति गठन गरेको हो ।

कपन सरस्वतीनगरमा रहेको ‘निरू किचन’ की सञ्चालिका निराको चक्कु प्रहार गरेर हत्या भएको थियो । निरू किचनमा गत बिहीबार बैशाख ७ गते दिउँसो साढे ३ बजे एक महिलाको शव फेला प¥यो ।

बागलुङ बडीगाड गाउँपालिका घर भई सरस्वतीनगरमा बस्दै आएकी ३५ वर्षीया आचार्यलाई धारिलो हतियारले प्रहार गरी हत्या गरिएको थियो । त्यसदिन निरालाई पैसा बुझाउन भनेर एक महिला पसलमा आएकी थिइन् ।

उनले निरालाई पसलमा देखिनन् । पसलमा नभेटिएपछि उनले फोन गरिन ्। फोन बजेको आवाज पसल भित्रैबाट आयो। फोन त्यहीँ चार्जमा छाडिएको थियो ।

त्यसपछि उनले निराका श्रीमान् योगेन्द्रलाई फोन गरिन् । फोन गर्दा योगेन्द्रले निरा पसलमै हुनुपर्ने बताए । शौचालय गएको वा भित्रको काउन्टरमा हुनसक्ने भनेपछि उनी काउन्टरमा हेर्न गइन् ।

काउन्टरमुनि ती महिलाले निरा लडिरहेकी देखिन् । निरालाई मृत देखेपछि उनले योगेन्द्रलाई बोलाइन् । त्यसपछि योगेन्द्रले प्रहरीलाई खबर गरे । ‘निरू किचेन’ पसलबाट ३ सय मिटर जति पर उनीहरूकै अर्को होम अप्लायन्सको पसल पनि छ । त्यो पसल उनका श्रीमान् चलाउँथे ।



Tags: