
बैतडीमा जिप र सिन्धुलीमा कार दुर्घटना, १० जनाको मृत्यु
पोखरा, २९ चैत/ बैतडीको पाटन नगरपालिका–८ मा जिप र सिन्धुलीमा कार दुर्घटना हुदाँ १० जनाको मृत्यु भएको छ ।
बैतडीको दुर्घटना परि एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।
खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति दुर्घटना भएको हो ।
जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो । जिपमा सवार केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरी बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।
राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । उनको धुलिखेलको अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई छ ।





