
ढाकाकुमार श्रेष्ठ
पोखरा, २६ चैत/ राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार विज्ञप्ति जारी गर्दै अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनलाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिइएको छ ।
रास्वपाले टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।
यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।
कपुरबोट मिडियाले श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको थियो । अडियोमा श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेका मान्छेलाई रकम चाहिएको बताएका छन् ।





