पोखरा १८ को पुन मतगणना गर्न उच्च अदालत पोखराको आदेश

-


     क्लिक गण्डकी     
     चैत्र २१ गते २०७९ मा प्रकाशित


उच्च अदालत पोखरा

उच्च अदालत पोखरा

सागर राज तिमिल्सिना
पोखरा, २१ चैत/ पोखरा महानगर पालिका वडा नम्बर १८ का वडाध्यक्ष पदको पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको इजलाशले वैशाख २० गते मतगणना गर्न मंगलबार आदेश दिएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए । उक्त मतगणनाप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका पुष्कल थापाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उनले चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दायर गरेका थिए । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई बिपक्षी बनाएर मुद्दा दिए थिए ।

यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो ।

तिमिल्सिनाले १ हजार ६ सय ४३ ल्याउदा थापाले १ हजार ६ सय ४० मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका राजु शर्मा तिमिल्सिनाले ७ सय २ मत ल्याए । अन्य चार जना सदस्य भने नेकपा एमालेले जितेको थियो ।

खुल्ला सदस्यमा नमराज सुबेदीले १ हजार ७ सय ४९ र रमेशबहादुर थापाले १ हजार ८ सय ५६ मत प्राप्त गरेका थिए । महिला सदस्यमा कल्पना ढकाल क्षेत्रीले १ हजार ८ सय २८ मत र दलित महिला सदस्य मिनाकुमारी नेपालीले १ हजार ८ सय ५६ मत प्राप्त गरेकी थिइन् ।



Tags: