
महिलाको हत्या गरी पानी टंकीभित्र शव फालेको आरोपमा एक जना पक्राउ
पोखरा, १७ चैत/ शान्ति श्रेष्ठको हत्याकाण्डमा संलग्न अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–५ घर भइ पोखरा घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनारलाई प्रहरीले सार्वजनिक गरेको हो । सुनारलाई प्रहरीले चैत १५ मा तनहुँको थप्रेकबाट पक्राउ गरेको थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल ५ घर भइ हाल पोखरा ३३, बाघमारामा बस्दै आएकी शान्ति फागुन २१ गतेबाट बेपत्ता भएकी थिइन् । पतिको ५ वर्षअघि मृत्यु भएपछि उनले पोखरा अमरसिंहचोकमा फलफूलको व्यापार गर्ने गर्थिन् । खोजी गर्दा नभेटिएपछि उनको परिवारले चैत ६ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गर्ने निवेदन दिएको थियो ।
उनको शव सोमबार तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित पीपलटार खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकीभित्र फेला परेको हो । घर वितरण गरिएको खानेपानी पिउदा दुर्गन्धित भएपछि उपभोक्ताले गुनासो पानी टंकीमा हेर्दा शव फेला परेको थियो । खानेपानीको ट्यांकी खोलेर हेर्दा क्षतविक्षत अवस्थामा महिलाको शव फेला परेको थियो । शव फेला परेको उनका आफन्तले हातको दाग आधारमा शान्ति भएको सनाखत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँले हत्याको अनुसन्धान गर्दै गर्दा सुनारले हत्या गरेर खानेपानी ट्यांकीभित्र शव फालेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिस्टले बताए । सापटी दिएको रकम फिर्ता नगरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी बिस्टले बताए । हत्यापछि महिलासँग भएको गरगहना र मोबाइल लुटिएको छ ।
हत्यापछि सुनारले ती गहना पोखरा महेन्द्रपुलको एक सुनचाँदी पसलमा लगेर बिक्री गरेका थिए । सुनचाँदी पसलका संचालक रविनकुमार गहतराजलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।
शान्ति र प्रकाशको २ वर्ष अगाडि चिनजान भएको थियो । अमरसिंह चोकमा फलफूलको व्यापार गर्ने शान्तिसँग सवारीचालक सुनारको फलफूल लगायतका खाद्यान्न ढुवानी गर्नेक्रममा चिनजान भएको हो । सम्बन्ध घनिष्ठ बन्दै गएपछि आपसी लेनदेन हुन थाल्यो ।
२ महिनाअघि शान्तिले छोराको उपचारका लागि प्रकाशसँग १० हजार मागेकी थिइन् । प्रकाशले सापटी फिर्ता माग्दा छोरा बिरामी भएकाले तत्काल दिन नसक्ने भनी इन्कार गरिन् । त्यसपछि दुवैबीच मनमुटाव बढ्यो । २१ फागुनमा पैसा दिने भनेर शान्तिले प्रकाशलाई खैरेनीटार लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यहाँ विवाद भएपछि सुनारले इँट्टा प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्याकाण्डको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





