अन्नपुर्ण हिमाल सफाइ अभियान, सेनाको टोलीलाई पोखरा महानगरको झण्डा

-


     क्लिक गण्डकी     
     चैत्र १६ गते २०७९ मा प्रकाशित


अन्नपुर्ण हिमाल सफाइ अभियान, सेनाको टोलीलाई पोखरा महानगरको झण्डा

अन्नपुर्ण हिमाल सफाइ अभियान, सेनाको टोलीलाई पोखरा महानगरको झण्डा

पोखरा, १६ चैत/ नेपाली सेनाले वर्षेनी गर्दै आएको हिमाल सफाइ अभियान अन्तरगत यस वर्ष अन्न्पूर्ण हिमालमा पनि सफाइ गर्ने भएको छ । सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई ८ हजार मिटर भन्दा माथिका सबै हिमालहरू सफाइ अभियान अन्तरगत अन्नपूर्ण हिमाल सफाइ गर्ने भएको हो ।

अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गरेर महानगरका प्रमुख धनराज आचार्यले विदाइ गरेको छन् । आचार्यले सफाइ टोलीको नेतृत्व गरेका क्याप्टेन भीम बहादुर भुजेललाई झन्डा हस्तान्तरण गरे ।

विदाइ गर्दै प्रमुख आचार्यले पोखरा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृखलाहरुको काखमा रहेको सहर भएको बताए । पछिल्लो समय हिमालमा बढेको मानवीय क्रियाकलापका कारण भइरहेको वातावरण प्रदूषण घटाउन सक्दो सहयोग गर्ने उनको भनाई थियो । आचार्यले पोखरा महानगरपालिकाको तर्फबाट टोलीलाई नगद १५ लाख सहयोग गरिने बताए । उनले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा पोखरा महानगरपालिकाले साथ दिने बताए ।

हिमाली क्षेत्रको सरसफाइ सर्वसाधारणहरूको पहुँच नपुग्ने र भौगोलिक तथा वातावरणीय अवस्थाका कारण पनि सफाइमा कठिनाइ हुने गर्दछ । नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी (मेजर जनरल) दीपक कुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तरगत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागिएको बताए । हिमाल र ती हिमालहरूको बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्किोणले चुनौती र चिन्ताको विषय बनिरहेको उनको भनाई थियो ।

यसअघि नेपाली सेनाले गण्डकी प्रदेशका २०२१ मा धौलागिरि र सन् २०२२ मा मनास्लु हिमालको सफाइ गरिसकेको छ । ८ हजार मिटर माथिका विभिन्न हिमालहरूमा विगत ७० वर्षदेखि डम्प भइरहेको फोहोरलाई सफाइ गर्ने अभियान सञ्चालन गरेको नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीले बताए । सेनाले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरूबाट करिब ३५ टन फोहोरहरू संकलन गर्ने लक्ष्य यस वर्ष रहेको छ ।

अन्नपूर्ण हिमाल सफाइमा १० जनाको टोली छ भने ४ जना आरोहण गरेर नै सरसफाइ गर्ने छन् भने अन्यले बेसक्याम्पमा सफाइ गर्ने छन् । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका संघसंस्थाहरूले प्राविधिक सहयोग गरेका छन् ।



Tags: