शैक्षिक गुणस्तर सुधार्न नीतिगत तहमै आवश्यक

-


     क्लिक गण्डकी     
     चैत्र १२ गते २०७९ मा प्रकाशित


शैक्षिक गुणस्तर सुधार्न नीतिगत तहमै आवश्यक

शैक्षिक गुणस्तर सुधार्न नीतिगत तहमै आवश्यक

पोखरा, १२ चैत/ विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ । १२ कक्षा उत्तिर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ । यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरुले चिन्ता जनाउन थालेका छन् ।

उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठुलो संख्या बाहिरिएकोमा उनीहरुको चिन्ता छ । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको ‘शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक उन्नयन’ विषयक अन्तरक्रियामा बोल्दै विभिन्न विद्यालयका प्राचार्यहरुले नेपालको शैक्षिक गुणस्तर हुन नसक्दा विद्यार्थीको पलायन गति बढ्दो रहेको भन्दै चिन्ता जनाए । विद्यार्थीलाई स्वदेशमै रोक्न शिक्षामा गुणस्तर कायम गर्नुका साथै नीतिगत सुधारमा पनि ध्यान दिनुपर्ने उनीहरुले बताए । खाडीमा जाने भन्ने सोचाई परिवर्तन गर्न आवश्यक रहेको उनीहरुले बताए ।

पोखराको अग्रणी सामुदायिक विद्यालय शितलदेवी माविका प्रअ बाबुराम अधिकारीले गुणस्तीय शिक्षा बढाउन राज्यको चिन्तत हुनुपर्ने सुुझाए । शिक्षाको गुणस्तर बढाउन राज्यको लगानी नै कमजोर रहेको उनले बताए । छोटो समयमा धेरै कमाई हुने भएपछि विद्यार्थीहरु विदेश आकर्षित भएको अधिकारीले बताए । ‘शिक्षा र पैसा दुवैमा राम्रो हुने भन्दै अहिले १२ कक्षापछि विद्यार्थी नेपालमा बस्न चाहेनन,’ उनले भने, ‘विद्यार्थीलाई स्वदेशै पढाउने गरि माहोल सिर्जना गर्नुको विकल्प छैन । त्यसैले पनि सुधारको आवश्यकता छ ।’

छोरेपाटन माविका प्रअ डिल्लिराम शर्माले बजारमा बिक्ने विषय पढाउने हो भने विद्यार्थीको विदेश पलायन केही हदसम्म भएपनि रोक्न सकिने सम्भावना रहेको बताए । ‘रोजगार पाउने अवस्था भएमा विद्यार्थी टिकाउन सकिन्छ । विद्यार्थीलाई आफ्नै क्याम्पस वा स्कुलमा टिकाइरहने रणनीति अब शिक्षण संस्थाले नै बनाउनुपर्छ,’ उनले भने, ‘शैक्षिक गुणस्तर बढाउने पहिलो दायित्व सम्बन्धित शिक्षण सस्थाको हो । ‘पछिल्लो समय त शिक्षण संस्थामा गुणस्तर कायम गर्नु भन्दा पनि विद्यार्थीको संख्या बढाउने चूनौती छ ।’

शिद्ध पब्लिक स्कुलका प्रअ आनन्दराज अधिकारीले छिटोछिटो पाठ्यपुस्तक परिवर्तन हुँदा पनि समस्या निम्तेको बताए । कक्षा १२ सम्मको परीक्षा प्रणालि तुलनात्मक रुपमा ठिकै भएपनि विश्वविद्यालय तहको परीक्षामा बेथिति मौलाएको उनले बताए । परीक्षाको रिजल्ट ढिला आउने, तोकिएको समयमा परीक्षा नहुने जस्ता समस्याले गर्दा विद्यार्थीहरु नियमित पढाई छाडेर भाषाका कक्षा सिक्न विभिन्न इन्स्टिच्यूटमा जाने गरेको उनले सुनाए । ‘जो सुकै विद्यार्थीको सोचाई नै विदेश जाने रहेको छ,’ उनले भने, ‘अहिले विश्वविद्यालयका कोठा खालि छन, विभिन्न मुलुकमा रोजगारीका लागि जानेगरि भाषा सिक्ने विद्यार्थीको भीड अन्यत्र छ ।’

अर्काे विद्यालय तालबाराही माविका शिक्षक ताराप्रसाद पोखरेलले सरकारले जति नै शैक्षिक गुणस्तरका कुरा गरेपनि सुधार नभएको भन्दै चिन्ता जनाए । अब शैक्षिक गुणस्तर कायम भयो वा भएन भनेर खोजी गर्ने बेला भएको उनले बताए । ‘शिक्षामा गुणस्तर भएन भनेर सबैतिर बोल्ने काम भएको छ । तर, त्यसको कारण खोजी भएको छैन,’ उनले भने, ‘अब गुणस्तर कायम हुन नसक्नुको कारण खोजेर सुधार ल्याउनुको विकल्प छैन । तल्लो तहदेखि नै गुणस्तरमा सुधार ल्याउनुपर्छ ।’

भलामस्थित महेन्द्र माविका प्रअ बोधराज पौडेलले नीति, थिति र विधिमा समस्या हुँदा शैक्षिक गुणस्तर कायम हुन नसकेको बताए । ‘छोराछोरी सहर बसेका छन् भनेर अभिभावकले गर्व गर्ने विषय बनेको छ । हामी सबैले संस्कार बिगारेर छोराछोरीलाई ठुलो सहरमा राख्न खोज्दा यो अवस्था आएको हो,’ उनले भने ।

छलफलमा पोखरा बहुमुुखी क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन सबैको पहलमा मात्र शिक्षामा जागरुकता ल्याउन सकिने बताए । उनले देशलाई सुदृढ र अब्बल बनाउने हो भने शिक्षामा सुधार गर्नुपर्ने बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी कतिपय सामुदायिक विद्यालयले गुणस्तर कायम गरेकै कारण ती विद्यालयमा भर्ना दर उच्च रहेको बताए । उनले पढाईमा गुणस्तर सर्टिफिकेटमा मात्र खोजी भएको बताए । समाजको व्यवहारिकतामा गुणस्तर खोजी हुन नसकेको उनले बताए । ‘सर्टिफिकेटमा गुणस्तर खोज्यौ, देशको सेवा गरौ भन्ने भावना विकास गराउन सकेनौ,’ सुवेदीले भने, ‘समाज, देशकाल, देशको परिस्थिति बुुझनेगरि छोरोछोरीलाई संघर्ष गर्न सिकएनौ । अब त हामी आफैले आफ्ना छोराछोरीका लागि बजार खोज्ने बेला भएको छ ।’

पढेको मान्छेले खेतबारीमा काम गर्न हुँदैन भन्ने भावना पलाउँदा पनि समस्या भएको उनले सुनाए । ‘यस्तै अवस्था हुँदै जाने र विद्यार्थी पलायन बढ्दै जाने हो भने काम गर्ने जनशक्ति अभावमा हाम्रो अर्थतन्त्रमै असर पर्ने अवस्था छ,’ उनले भने, ‘अब त श्रमप्रति सम्मान गर्ने वातावरण बढानुपर्छ । त्यसका लागि सबै एकजुट हुनुपर्छ । खाडीका लागि मात्र जनशक्ति तयार पारेको जस्तो देखिएको छ । स्वदेशमै रहने वाचा गर्नुपर्छ ।’

क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले विदेशिएको जनशक्ति रोक्ने प्रयास नभएको बताईन । उनले विदेशमा जाने विद्यार्थी मध्ये अधिकांशले बौद्धिक भन्दा शारिरिक काम गरेको बताईन । ‘विद्यार्थीले बरु नेपालमै राम्रो काम पाएका हुन्छन, विदेश जाने अधिकांशले बौद्धिक काम पाएका हुँदैनन, उनीहरुले शारिरिक काम गर्ने हो,’ उनले भनिन, ‘कम्तिमा स्वदेशै रोकिने हो भने बौद्धिक काम पाइन्छ । स्वदेशमा रोकिने हो भने उत्पादन पनि बढाउन सकिन्छ ।’ पछिल्लो समय विद्यार्थीमा विदेशीने लहर बढेको भन्दै त्यसलाई रोक्न सरकारी निकायले तत्कालै कदम चाल्नुपर्ने उनले बताईन ।