
सरुभक्त
रवीन्द्र माकाजू
यतिखेर प्रसिद्ध साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठ दौंतरी कविता शुभारम्भको तयारीमा जुट्दैछन् । जसका बारेमा चर्चा परिचर्चा हुनु स्वभाविकै छ । भक्तराजबाट उनी कसरी सरुभक्त भए सबैमा कौतुहलता जाग्नु स्वभाविकै हो । भनिन्छ, उनी कसैका प्रेम पागल भएका थिए रे ! यस्तै रे रे का कथाहरु उनका जीवनमा मात्र होइन, हरेकका जीवनमा देखिन्छ, भेटिन्छ तर जे होस् वरिष्ठ साहित्यकार सरुभक्तका प्रेम प्रसङ्ग पाठकका लागि रोचकताको विषय बन्ने गर्दछ ।
शायद उनले जति उत्तर दिए पनि पाठक र शुभेच्छुकहरुका लागि उनको विवाह या प्रैम प्रसङ्ग कौतुहलता विषय बन्न पुग्छ । अझ रोचक के पनि छ भने उनी प्रेम प्रतीक हुँदा उनले जति प्रेमको परिभाषा गर्ने अधिकार अरूले पाएका छैनन् । यसकारण उनका प्रेमका गीतहरु, कथाहरु, गाथाहरु पाठकका लागि हृदयस्पर्शी, मार्मिक सन्देश बन्न पुग्छ । आजन्म बालब्रह्मचारी सरुभक्तले प्रेमको मूल्य र मर्म जे जति बुझेका छन्, भोगेका छन्, शायद अरूले बुझेका छैनन् भन्ने गरिन्छ ।
उनी भन्दछन्– प्रेमको मूल्य त्यति नै हुन्छ जति प्रेम गर्ने मान्छेको सामथ्र्य हुन्छ । २०१२ सालको तीजका दिन बुबा गणेशबहादुर र आमा लक्ष्मी श्रेष्ठको पहिलो सन्तानका रूपमा पोखराको बागबजारमा सरुभक्तको जन्मिएका हुन् । बाल्यकालमा चञ्चले स्वभावका थिए उनी । किनभने त्यतिबेला छरछिमेकमा अरू शिशु जन्मिएका थिएनन् ।
अध्ययनका लागि उनी तत्कालीन नेपाल आदर्श विद्यालय बोर्डिङ स्कुल ९हालको गण्डकी बोर्डिङ स्कुल० मा भर्ना भए । त्यहीँ उनको साहित्यिक रुचि जाग्यो । गुरु–गुरुआमाहरूले विभिन्न कवि तथा लेखकका कृति भाका हालेर सुनाउँदा उनमा साहित्यिक कलम चलाउने प्रेरणा जाग्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा कविशिरोमणि लेखनाथ पौडेलका कृतिबाट उनी साहित्यको क्षेत्रमा काम गर्न हौसिए ।
कक्षा ६ मा पढ्दादेखि नै कविता कोर्न थालेका सरुभक्त कक्षा १० पढ्ने क्रममा पुस्तकालयमा घन्टौंसम्म विभिन्न उपन्यास तथा नाटकमा घोत्लिन थाले, जसले उनलाई उपन्यास र नाटक लेख्न अभिप्रेरित ग¥यो । उच्चशिक्षाका लागि पृथ्वीनारायण क्याम्पस पुगेसँगै उनले साहित्यिक क्षेत्रमा आफ्नो व्यस्तता बढाए ।
२०३५ सालमा बन्द खामभित्र मुक्तक संग्रह प्रकाशन पछि औपचारिक रूपमा उनको साहित्यिक यात्रा प्रारम्भ भयो । मुक्तक संग्रहबाट उनको चर्चा चुलियो । त्यही समयमा उनले पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना गरी संस्थापक सचिवको जिम्मेवारी लिए । त्यो समयमा टिकटमा मुक्तक कार्यक्रम पनि प्रारम्भ भयो । यो कार्यक्रम वर्षमा एक पटक हुन्थ्यो भने मुक्तक सुन्न टिकट काट्नुपथ्र्यो । २०५० मा केही मुक्तक थप गरी बन्द खामभित्र संग्रह पुनः प्रकाशन भयो ।
त्यसपछि उनका २०६२ मा हजार बुद्धहरू, २०६७ मा प्रेमयात्रा नामक मुक्तक संग्रह प्रकाशित भए । सरुभक्तका इतिहासभित्रको इतिहास, गाउँको कथा यस्तो हुन्छ है, शिशिरका अन्तिम दिनहरू, बालबालिकाहरूको नाटकलगायत एक दर्जनभन्दा बढी नाटक संग्रह, एक अभिनयको आत्मकथा, ब्रह्माण्ड, पागल बस्ती, तरुनी खेती, समय त्रासदी, चुली, अँध्यारो कोठा, पदार्थहरूको गीत, प्रतिगन्ध गरी थुप्रै कथासंग्रह तथा उपन्यास प्रकाशित भैसकेका छन् भने नेपालेश्वर नामक महाकाव्य छिट्टै प्रकाशन हुँदैछ ।
पोखरेली युवा सांस्कृतिक परिवार, युवा नाटक परिवार, प्रतिविम्ब नाट्य समूह, पोखरा सार्वजनिक पुस्तकालयको पूर्वअध्यक्ष, तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सदस्य आदि विभिन्न संस्थामा आबद्ध र थुप्रै संस्थामा सल्लाहकारका रूपमा काम गरिरहेका सरुभक्तले आफू सस्थापक बनी कुनै पनि क्षेत्रमा प्रतिभा देखाउने तथा उल्लेख्य काम गर्ने बालबालिकालाई प्रेरणा दिन राष्ट्रिय बालप्रतिभा पुरस्कार पोखराको स्थापना गरेका छन् ।
पोखरालाई प्रकृति र सांस्कृतिक राजधानी बनाउनुपर्छ भन्ने आवाज उठाउँदै सरुभक्त गण्डकी प्रदेशका लोकभाका, लोकनृत्य, नाटक, कथा लगायतका लोकसम्पदाको समृद्धक्षेत्र भएकाले यसको विकासका लागि सबैले सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राख्छन् । साहित्यिक कर्ममै जीवन बिताउने वाचा गरेका सरुभक्त साहित्यिक कर्मको संस्थागत विकास गर्न हरक्षण क्रियाशील छन् ।
उनले साहित्यको क्षेत्रमा मदन पुरस्कार जस्तो उच्च सम्मान पाइसकेका छन् । सरुभक्त कविता महोत्सवमा तृतीय र प्रथम भएका थिए । वीरेन्द्र–ऐश्वर्य पदक, सतवार्षिक सम्मान, शुक्लासाहित्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, रत्नश्री एवार्ड, नेपाल बालसाहित्य पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार, कुमुदिनी कला साहित्य पुरस्कार जस्ता दर्जनौ पुरस्कार तथा सम्मान पाइसकेका सरुभक्त साहित्यिक कार्यक्रमको सिलसिलामा उनी हङकङ, कोरिया, अमेरिका, वेलायत, भारत आदि देश तथा नेपालका अधिकांश भागमा पुगेका छन् ।
कविताको संरक्षण तथा प्रचार–प्रसारका निम्ति २०५५ सालदेखि संरक्षण कविता आन्दोलन चलाइरहेका सरुभक्त त्यसका लागि गाउँ–गाउँ गै कविता सिर्जना गरी स्थानीय मानिसहरू जम्मा गरी कविता सुनाइरहेका छन्, जुन अहिले पनि निरन्तर छ । उनले संगीत तथा नाट्य प्रतिष्ठानमा आफ्नो ४ बर्षे कुलपतिको गहन कार्यकाल कुशलतापूर्वक निर्वाह गरे ।
बालब्रह्मचारी सरुभक्तले किन विवाह गरेनन् सबैका लागि कौतुहलताको विषय बन्नु स्वभाविकै हो । सरुभक्त विवाहका बारे भन्दछन्–पहिला पहिला बुवा आमा भइन्जेल विवाहको चर्चा चलाउनु हुन्थ्यो । विवाह गर्न करकाप पनि गर्नु हुन्थ्यो । अहिले उहाँहरु हुनुहुन्न । साथीभाइले यसलाई जति भने पनि मान्ने होइन भनेर आजकल भन्न पनि छाडे । शायद अब भन्ने पनि छैनन् कि ?





