समाजसेवामा रुद्रकुमारी (मैना) गुरुङ, धर्मकाय बुद्ध मण्डला बनाउन जुट्दै

-


     क्लिक गण्डकी     
     फागुन २० गते २०७९ मा प्रकाशित


रुद्रकुमारी (मैना) गुरुङ

रुद्रकुमारी (मैना) गुरुङ

रवीन्द्र माकाजू
पोखरा हिमाल, वनपाखा, डाँडाकाँडा, नदीनाला, ताल, तलैया सुन्दर र अति मनमोहक हावापानी र हरियाली दृष्टिले मात्र नभई मानव निर्मित मठमन्दिर, गुम्बा, विहार एवं संस्कृतिले समेत पोखरा मनमोहक र लोभलाग्दा छन् । यसै सेरोफेरोमा पोखरामा थप आकर्षकको केन्द्र बनाउन अहोरात्र जुटेकी छिन् धर्मकाय बुद्ध मण्डला तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी (मैना) गुरुङ ।

तमु धिं नेपालका पूर्व महासचिव पोखरामा एक साहसिक नारीका रूपमा पनि परिचित छिन्– मैना । उनी रोयल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् । धेरै वर्ष कुँडहर प्राविमा व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयको मुहार फेरिदिएका मैना हिमाली सांस्कृतिक पोखरामा पनि आवद्ध छिन् । मैनाले अन्नपूर्ण टोल समाजको अध्यक्ष भएर समाज भवन बनाउने टोल विकासमा आवद्ध भएर बाटो बनाउने काममा आफ्नो धेरै समय खर्चेकिछिन् ।

अहिले उनको धेरै समय काहुडाँडामा निर्माण गर्न लागिएको विशाल बुद्ध प्रतिमा एवं मण्डला निर्माणमा खर्च हुने गरेको छ । सम्भवत् यो निर्माण कार्य सम्पन्न भएपछि उनले आफ्नो नाम पोखराको स्वर्ण इतिहासमा सदा सदाका लागि अमिट छाप हुने गरी स्वर्णअक्षरले अङ्कित गर्नेछिन् ।

विसं २०१९ सालमा कास्कीको मादी गाविस ७ मा जन्मिएकी मैना गुरुङले हिमालय मा।वि। आँटीघर मौजाबाट ७ कक्षा पास गर्ने सौभाग्य प्राप्त गरेकी छिन् । मिठो बोली, वचन र विनम्र स्वभावका हुँदा उनले नेतृत्व लिने गरेका हरेक सामाजिक, धार्मिक कार्यमा सबैले हृदय खोलेर सहयोग गर्ने गरेका छन् । लाग्छ उनको यो सेवा कार्य र साहसले धेरैलाई चुनौतीपनि दिएको छ ।
मनकारी मैना गुरुङसँग मेरो ०५६ सालतिर परिचय भएको थियो ।

जुनबेला उनी पुनम हत्याकाण्डमा दोषी लिएर कारबाही हुनुपर्छ भनेर पोखरापत्रमा समाचार दिन आउनुहुन्थ्यो । त्यसपछि उनीसँग मेरो बौद्ध अर्घौ सदनमा भेट भइरहन्थ्यो । सधैँ सामाजिक कार्यमा लागि पर्ने मैनाले यी सबै सामाजिक, धार्मिक गतिविधिलाई पूर्णरूपले सम्पन्न गरेर अहिले पोखरा ११ काँहुडाँडामा निर्माण भइरहेको विशाल योजनामा लागि परेका छिन् ।

त्यहाँ भूमिदान स्वरूप दाताहरुले ८ करोडभन्दा बढी सहयोग गरिसकेका छन् भने सहयोग आउने क्रम दिन दुई गुणा रात चौगुणा वृद्धि भइरहेको छ । यो पुण्यकार्यका लागि नेपाल बाहिरबाट पनि मनग्यै सहयोग प्राप्त भइरहेको छ । यस्तो पुण्यकार्य गर्न पाएकोमा आफूलाई भाग्यमानी सम्झँदै मैना भन्दछिन् – पोखरालाई थप सुन्दर, भव्य बनाउने कार्यमा पोखरेलीहरुले ढिलो गर्नै हुँदैन ।

उनी यस महायज्ञ सफल बनाउनका लागि अमेरिका, बेलायत, हङकङ, बेल्जियम लगायतका मुलुक पनि पुग्ने गर्दछिन् । उनका इष्टमित्र, आफन्तजन सहयोग गर्न पछि पर्दैनन् र मैनालाई झनै हौसाउँदैछन् । मैनाका विशुद्ध सामाजिक सेवा कार्यको विभिन्न निकायबाट सम्मान पनि भएको छ । उनी बुद्ध जयन्ती समारोह समिति, शिक्षा कार्यालय कास्की, सनातन धर्म सेवा समिति कास्की लगायतका संस्थाद्वारा सम्मानित छिन् । यो क्रम अझै रोकिएको छैन । उनलाई देख्दा यस्तो लाग्छ– समाजसेवा गर्नेको समाजमा पूजा पनि हुन्छ । समाजसेवा कहिले खेर जाँदैन ।



Tags: ,