
बुद्ध एयर
पोखरा, १७ फागुन/ बुद्ध एयरले मार्चबाट पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटि मार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध रहेको स्टेशन म्यानेजर गौतम बरालले बताए । उनले केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् ।
काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ । ९ हजार ६ सय ८५ रुपैयाँ पर्छ ।
बुद्ध एयरले मार्च देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । काठमाडौं पोखरा साझँ ७ बजेर ३५ मिनेट र पोखराबाट काठमाडौं ४ बजेर ३५ मिनेटमा उडान गर्ने छ ।