
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, ११ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रीकालीन उडानका लागि तयार भएको छ । पोखराबाट अहिले सम्म रात्रीकालीन उडान हुन सकेको थिएन । हवाई कम्पनिले पनि रात्रीकालीन उडानका लागि आवश्यक तयारी थालेका छन् ।
जनवरी १ देखि संचालनमा आएको विमानस्थल अहिले दिउँसोको समयमा मात्रै उडान हुदै आएको थियो । अब भने रातीको समय पनि आवश्यकता अनुसार उडान र अवतरण संचालन गर्न सकिने विमानस्थलले जनाएको छ ।
बिहीबारदेखि विमानस्थल प्रविधिमा आधारित रहेर उडान गर्ने विधि आइएफआर (इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स) अनुसार संचालन भएको छ । अहिलेसम्म सबै उडान भिएफआर (भिजुअल फ्लाइट रुल्स) प्रविधि अनुसार संचालित थिए । भिएफआरमा ककपिटमा बसेका पाइलटले आँखाले हेरेको भरमा उडान र अवतरण गराइन्छ ।
बुद्ध एयरले मार्च फागुन २५ देखि काठमाडौं–पोखरा रुटमा रात्रीकालीन उडान गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । अहिलेका लागि राती ८ बजेसम्म रात्रीकालीन उडान गर्ने तालिका रहेको बुद्धका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए ।
उनका अनुसार अहिले दिउँसोको समयमा उडान गर्दा बढीमा १० वटा सम्म उडान भएका छन् । तर, रात्रीकालीन उडान गर्दा त्यो संख्या बढाएर दिनमा १२ वटासम्म पु¥याउने तयारी रहेको कर्णले जानकारी दिए ।





