तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने– सभापति पदमबहादुर गुरुङ

-


     क्लिक गण्डकी     
     फागुन २ गते २०७९ मा प्रकाशित


तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने– सभापति पदमबहादुर गुरुङ

तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने– सभापति पदमबहादुर गुरुङ

पोखरा, २ फागुन/ गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले नेपाली नागरिक दोस्रो देशमा भर्ती भई तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने माग राखेका छन् । संघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति गुरुङले यस्तो कार्यले देशकै राष्ट्रियता र सार्वभौकिता माथि गम्भीर प्रहार भएको बताए ।

नेपाली नागरिकलाई दोस्रो देशको सेनामा भर्ती गर्ने कार्य रोकिनुपर्ने माग गरे । उनले नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिविपरीत नेपाली भूमिमा बेलायती सैनिक क्याम्प राखेर नेपालीलाई बहुर्राष्ट्रिय सेनामा पठाउने सरकारी नीति देशलाई नै दुर्घटनामा पार्नेखालको भएको उनको भनाई छ ।

ठूला छिमेकी देशबीचमा रहेको नेपालले आफ्ना नागरिकलाई भारतीय सेनामा पठाई छिमेकी देश चीन र पाकिस्तानसँग युद्ध लड्न पठाउने नीति नेपालको हो कि बेलायती नीति उनको प्रश्न थियो ?

प्रथम र दोस्रो विश्वयुद्धलगायत अन्य युद्धमा सैनिकको नाममा ८० हजारभन्दा बढी नेपालीको हत्या भएको भन्दै उनले यो जातीय नरसंहार भएको र उनीहरुका परिवारलाई बेलायतले क्षतिपूर्ति दिनुपर्ने माग राखे । नेपालस्थित बेलायती सैनिक क्याम्प हट्नुपर्ने र नेपाली दोस्रो देशको सेनामा भर्ती भई तेस्रो देशलाई प्रहार गर्नेसम्बन्धी नेपाली नीति स्पष्ट हुनुपर्ने उनको माग छ ।

उनले कास्की र स्याङ्जाको साल्मेडाँडामा बन्दै गरेको गोरखा स्मारक नेपाल सरकारले ५ करोड ८० लाख रुपैयाँ बजेट छुट्याउनुको पछाडि गलत नियत भएको आरोप लगाए । आधिकारिक र डिजाइन गर्ने इन्जिनियरलाई थाहै नदिई आयोजना सरकारले ठेकेदारलाई जिम्मा दिएर कमसल काम गरेर अलपत्र पारिदिएको आरोप उनको थियो ।



Tags: ,