पोखराका कांग्रेस नेता अमृत श्रेष्ठको निधन

-


     क्लिक गण्डकी     
     माघ १८ गते २०७९ मा प्रकाशित


अमृत श्रेष्ठ

अमृत श्रेष्ठ

पोखरा, १८ माघ/ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल किसान संघका केन्द्रीय सदस्य अमृत श्रेष्ठको मंगलबार निधन भएको छ । सोमबार बेलुका बिरामी भएपछि मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएकोमा मंगलबार साँझ उनको निधन भएको हो ।

पोखरा महानगरपालिका १ सिम्पानीका ४७ वर्षिय श्रेष्ठ बिरामी भएपछि अस्पताल लगिएको थियो । सोमवार साँझ करिब ६ बजेतिर साथीहरुसहित नालामुख नजिकै एक रेष्टुरेन्टमा खाजा खान बसे लगत्तै उनले टाउको दुख्यो भनेको र त्यसपछि सामान्य बान्ता गरेपछि बाथरुममा गएका थिए ।

बाथरुमबाट नफर्किएपछि हेर्न जाँदा उनि बाथरुममै बान्ता गरेर बेहोस भई लडेको अवस्थामा भेटिए पछि अस्पताल लगिएको थियो ।

उनको उपचारमा संलग्न डा. बालगोपाल कर्माचार्य र डा अनमोल पौडेलले मष्तिष्कमा अत्यधिक रक्तस्राव भएर रगत जमेको कारण ब्रेनले काम गर्न नसक्दा स्वास्थ्य अवस्था खराब भएको बताएका थिए । तर मंगलबार साँझ चिकित्सकले उनको मृत्यु भएको बताएका थिए ।

श्रेष्ठको बुधबार अन्त्येष्टि गरिने उनका परिवारका सदस्यले जानकारी दिएका छन् । उनका बुवा, आमा, श्रीमती, एक छोरी र एक छोरा छन् ।



Tags: