पोखरा बहुमुखी क्याम्पसमा पुनः लालचन अध्यक्ष

-


     क्लिक गण्डकी     
     माघ ८ गते २०७९ मा प्रकाशित


पोखरा बहुमुखी क्याम्पसमा पुनः लालचन अध्यक्ष

पोखरा बहुमुखी क्याम्पसमा पुनः लालचन अध्यक्ष

पोखरा, ८ माघ/ पोखरा बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा नरेन्द्रमान लालचन चयन भएका छन् । लालचनको यो दोश्रो कार्यकाल हो । नयाँ कार्यसमिति आठ सदस्यीय छ । सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । शनिबार भएको क्याम्पसको ३६औं साधारणसभा तथा सातौ अधिवेशनले कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको अवधि तीनवर्षको हुन्छ । कार्यसमितिमा अध्यक्ष लालचन सहित अरु सातजना सदस्य छन् । अध्यक्ष लालचनले बाँकी सदस्यलाई पदाधिकारी चयन गर्नेछन् । चुनिएका सदस्यहरुमा भीम गौतम, शंकर गुरुङ, बद्री श्रेष्ठ, कुमारी मुना बाँस्तोला, सोजन शेरचन, प्रकाश पहारी र उमा ठकुरी रहेका छन् । यो पोखराकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पस हो । २०४४ सालमा पोखराको टुँडीखेलमा स्थापित यो क्याम्पस नयाँबजार हुँदै अहिले पृथ्वीचोक नजिकै शान्तिवनमा सरेको छ ।

हालैमात्र नयाँ भवन बनाएर यो क्याम्पस नयाँबजारबाट शान्तिवन झरेको हो । क्याम्पसले सहयोग उठाएरै करिब ५ करोड रुपैयाँ लागतमा सुविधासम्पन्न भवन तयार पारेको थियो । साधारणसभाको पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले उद्घाटन गरे । जसी नै मेयर रहँदा महानगरले उपलब्ध गराएको जग्गामा क्याम्पसले सहयोग उठाएर भवन तयार पारेको थियो । नयाँ भवनमा गत मंसिर मध्यदेखि अध्यापन गराईरहेको छ ।

क्याम्पस साधारणसभामा बोल्दै संचालक समितिका उपाध्यक्ष भीम गौतमले क्याम्पसले क्यूएए पाउने तयारीमा रहेको जानकारी दिए । प्राध्यापक संघका सभापति हस्तबहादुर थापा ३६ वर्ष पछि क्याम्पसले आफ्नै भवन बनाएकोमा खुसी साट्न पाएको बताए । विभिन्न अप्ठ्यारोबीच पनि पोखरा महानगरले जग्गा उपलब्ध गराएको उनले बताए । ‘खुला रुपमा चन्दा पाएर क्याम्पस भवन तयार भएको हो । पुर्वाधार अभावमा कार्यक्रम बिस्तार गर्न गाह्रो भएको थियो । तीनवर्षभित्र जग्गा पाएर भवन तयार भएको छ,’ उनले भने, ‘अझै पनि संरचना आवश्यक छन् । ती संरचना तयार भएपछि बल्ल क्याम्पस पूर्ण हुनेछ ।’ नयाँ कार्यक्रम बिस्तार गर्नका लागि अझै पुर्वाधार चाहिएको उनले बताए ।

क्याम्पसका पुर्व प्रमुख प्राडा यादव गौडेलले बिगतको आरोह अबरोहका बाबजुत क्याम्पस तयार भएको र क्याम्पसका आवश्यकता आगामि दिनमा अझै बढ्ने बताए । क्याम्पसका त्रिबि प्रतिनिधि तेजनारायण अधिकारिले क्यूएए पाएपछि क्याम्पस अझै अब्बल हुने बताए । उनले अहिले भएका कार्यक्रमलाई अझ वृद्धि गर्न सुुझाए ।

समाजसेवी विश्व शाक्यले क्याम्पस भवन बनाउन जग्गा उपलब्ध गराउने पोखरा महानगर र निर्माण समितिको सक्रियताका कारण कामले पूर्णता पाएको बताए । ‘जग्गा दिने र लिने दुवैको संकल्पका कारण क्याम्पसले पूर्वाधार बनाउन सक्यो । भवन भएर मात्र संकल्प पूरा हुदैन अब आगामी दिनमा संस्थालाई बृहत बनाउनु पर्छ,’ उनले भने ।

सस्थापक संचालक समिति सदस्य आनन्दराज मुल्मीले पछिल्लो समय मुलुकको शिक्षा कहाँ जादैँछ भन्ने थाहा नभएको बताए । शिक्षा निरन्तर अन्योलको विषय बनेको उनले बताए । पोखरा शिक्षा क्षेत्रमा उत्कृष्ट सहर बन्नुपर्ने भएपनि त्यो हुन नसकेकोमा मुल्मीको चिन्ता थियो । ‘पोखरा जिवन्त सहर बन्नको लागि बहस नै चलेन । शिक्षाको स्तरमा पोखरा कहाँ छ भनेर हामिले चिन्ता लिएनौ । पोखरा शिक्षाको लागि उत्कृष्ट भनेर भन्न सकेनौ,’ मुल्मीले भने, ‘जिवन्त सहरमा शिक्षाको बहस हुनु पर्ने हो तर त्यो बहस छैन । शैक्षिक उन्नयनका लागि पोखरामा चिन्ता कम छ ।’

पोखरा महानगरका पूर्व प्रमुख मानबहादुर जिसीले शिक्षा पूर्वाधार सरस्वतीको मन्दिर भएकोले त्यस्ता मन्दिर बनाउन सबैको सहयोग चाहिने बताए । उनले कोभिडको अप्ठ्यारोमा पनि काम गरेर नमूना देखाएको बताए । उनले क्याम्पसलाई गण्डकीको शिक्षा केन्द्र बनाउन सकिने बताए । ‘आम रुपमा सहयोग आव्हान गरेर क्याम्पसलाई थप बलियो बनाउनुपर्छ । सबैको पहुँचमा यो क्याम्पस बन्नुपर्छ,’ उनले भने ।

क्यापस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पस सबैको साझा सम्पत्ति भएकोले यसको उन्नतीमा पोखरा जाग्नुपर्ने बताए । क्याम्पस प्रमुख शिशुकला पराजुलीले कोभिडको मारमा परेको अवस्थामा पनि पूर्वाधार तयार पार्न सकेको बताईन । कोरोनाको मारमा परेको अप्ठेरो समयमा पनि काम गर्न सकेको उनले बताईन । ‘कतिपय गाह्रो थियो । तर, पनि पूर्वाधार तयार भयो,’ उनले भनिन । उनले आगामि दिनमा होस्टेल बनाउने क्याम्पसको योजना रहेको र त्यसका लागि सहयोग जुटाउन खोजेको बताईन । यो क्याम्पसमा अहिले स्नातक तहमा अध्यापन हुन्छ । व्यवस्थापन र मानविकी संकायमा चारवर्षे बिबिएस र बिएमा अध्यापन हुन्छ ।



Tags: