
पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
पोखरा, १ माघ/ पोखरा यति एयरको जहाज दुर्घटा भएको छ । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।
यात्रु तथा चालक दलका सदस्यको सूचीमा १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।
अहिले सम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ । दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।
विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन खोजेको देखीन्छ । पोखराको फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।





