
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
पोखरा, २५ पुस/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । उनले ३३ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । अधिकारीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरे ।
अधिकारीले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रदेश प्रमुखको कार्यालयमा सोमबार दाबी प्रस्तुत गरेका थिए । एमाले, माओवादी केन्द्र र राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
खगराजको समर्थनमा एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना र एकजना स्वतन्त्रसहित गरेर ३३ जना सांसद छन् । गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभामा ३१ जना सांसद भए बहुमत पुग्छ । अधिकारीले सोमबार साढे ४ बजे सपथ लिने छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँग उनले गण्डकीमा मन्त्रीपरिषद् सानो बनाउने बताए ।





