पोखराको मान्द्रेढुङ्गाबाट माघ १ बाट प्याराग्लाइडिङको व्यावसायिक उडान

-


     क्लिक गण्डकी     
     पौष २४ गते २०७९ मा प्रकाशित


प्याराग्लाइडिङ

प्याराग्लाइडिङ

पोखरा, २४ पुस/ पोखरा महानगरपालिका २४ मा पर्ने मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्दछ ।

प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडानको तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए ।

यसअघि पनि मान्द्रेढुङ्गाबाट उडान भए पनि व्यावसायिक उडान नभएको भट्टराईले बताए । मान्द्रेढुङ्गाबाट हुने उडान पामेमा अवतरण हुनेछ । अहिले परीक्षणका क्रममा पनि पामे फाँटमा अवतरण भइरहेको उनले जानकारी दिए ।

मान्द्रेढुङ्गाबाट व्यावसायिक उडानअघि प्यारापाइलट र प्याराग्लाइडिङ व्यवसायीलाई सुरक्षा र अन्य आधारभूत विषयमा एकदिने प्रशिक्षण गोष्ठी सञ्चालन गरिसकेको बताए । उनले पुसको अन्तिम वा माघ १ गतेबाट व्यवसायीक उडान गर्ने तयारी गरेको बताए ।



Tags: